सरकारका गतिविधिले देश स्वेच्छाचारितातिर जाने खतरा पैदा भयोः प्रचण्ड
काठमाण्डौः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘देश अप्ठेरोमा छ । लोकतन्त्र नै अप्ठेरोमा छ । संविधान पनि अप्ठेरोमा छ । अहिलेका सरकारका कयौं अभिव्यक्रि क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने ।
साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै सुदृढ गर्ने यो काममा अझै मिलेर अघि बढ्नुपर्ने भएको जिकिर गरे ।
‘हामीले अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ, त्यो शान्ति सम्झौताको अंगको रूपमा पनि छ,’ उनले भने, ‘अझै केही चिज टुंग्याउन बाँकी छ । त्यो टुंग्याइएन भने देश अझै अप्ठेरो अवस्थामा जानसक्छ ।’