वनगाउँबाट म्याद गुज्रिएका खाद्यवस्तु भित्र्याउने क्रम रोकिएन, त्रिनगर नाकामा प्रहरीले गर्यो जफत
धनगढीः धनगढी बजारमा संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्रीवितरणमा कडाइ गरिरहेका बेला सीमावर्ती वनगाउँबाट त्यस्ता सामग्री भित्र्याउने क्रम भने रोकिएको छैन।
भारतको वनगाउँबाट त्रिनगर नाका हुँदै धनगढीतर्फ ल्याइएका बिस्कुट, पास्ता, चिप्सलगायतका खाद्य सामग्रीमा म्याद गुज्रिएको भेटिएपछि प्रहरीले जफत गरेको छ। चाडपर्व नजिकिँदै जाँदा घरायसी प्रयोजनका सामग्री भन्दै सीमाबाट सामान ल्याउने र पछि बजारमा बिक्री गर्ने क्रम बढ्न थालेको पाइएको हो।
सीमाबाट सामान ल्याउनेहरूले कतिपय अवस्थामा ‘घरायसी प्रयोगका लागि’ वा ‘क्यारिङ’ भन्दै सामग्री ल्याउने गरेका छन्। तर, अनुगमनका क्रममा त्यस्ता सामग्री पसलमा बिक्रीवितरण हुने गरेको र केहीमा म्यादसमेत गुज्रिसकेको भेटिने गरेको छ। विशेषगरी बिस्कुट, पास्ता, चिप्सजस्ता बालबालिकादेखि सबै उमेर समूहले प्रयोग गर्ने खाद्य सामग्री म्याद गुज्रिएको अवस्थामा बजारमा पुग्दा उपभोक्ताको स्वास्थ्य जोखिममा पर्ने देखिएको छ।
सीमाबाट भित्रिने यस्ता सामग्रीको गुणस्तर र म्याद परीक्षणमा समेत चुनौती देखिएको छ। त्रिनगर नाकामा अवैध सामग्रीको ओसारपसार तथा अन्य नकारात्मक गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले निगरानी बढाएको जनाएको छ। सरकारले ५ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सारसम्बन्धी व्यवस्था लागू गरे पनि सीमाबाट विभिन्न सामग्री भित्र्याउने क्रम पूर्णरूपमा रोकिएको छैन।
विशेषगरी चाडपर्व नजिकिँदै जाँदा सीमाबाट खाद्य तथा अन्य उपभोग्य सामग्रीको ओसारपसार बढ्ने भएकाले म्याद, गुणस्तर र कानुनी प्रक्रियाको परीक्षणलाई थप प्रभावकारी बनाउनुपर्ने देखिएको छ। बजारमा संयुक्त अनुगमनमार्फत म्याद गुज्रिएका र गुणस्तरहीन सामग्री नियन्त्रणको प्रयास भइरहे पनि त्यस्ता सामग्री बजारसम्म पुग्नुअघि नै सीमामै रोक्न नसके उपभोक्ता स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने जोखिम बढेको छ।