सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

२०८३ असोज २१, ०२:४८ रासस

काभ्रेपलाञ्चोक : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने एकहप्ते अभियान आजदेखि यहाँ सुरु गरिएको छ ।

यही असोज २७ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा पार्टीका केन्द्रीय प्रतिनिधिका रुपमा सांसदत्रय जगदीश खरेल, गणेश कार्की र कुसुम महर्जन खटिनुभएको छ ।
त्यस अभियानको बनेपामा उद्घाटन गर्दै सांसद महर्जनले अभियानमा सरिक भई आफ्ना समस्या र गुनासा राख्न स्थानीय नागरिकसँग आग्रह गरे । उनले भने, “अभियानमा उपस्थित भई तपाईंहरुले गुनासा, समस्या तथा विकास निर्माणका विषयमा सुझाव राख्न सक्नुहुन्छ, नभ्याए लिखितरुपमा पनि दिनुस् ।

अभियानअन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहमा पुगेर जनतासँग प्रत्यक्ष संवाद, स्थानीय समस्या तथा जनगुनासो सङ्कलन र पार्टीको राजनीतिक अभियानलाई जनस्तरसम्म पु¥याउने कार्यक्रम रहेको जनाए । पार्टीको केन्द्रीय समितिद्वारा परिचालित प्रतिनिधिले आलोपालो जिल्ला तथा स्थानीय नेता कार्यकर्तासँगको समन्वयमा विभिन्न नगर तथा गाउँपालिकामा नागरिक, कार्यकर्ता तथा सरोकारवालासँग भेटघाट गर्नेछन् । त्यसका लागि स्थान र समय तालिकासमेत सार्वजनिक गरिएको छ । 

अभियानबाट स्थानीय तहका समस्या बुझ्ने, जनताका अपेक्षा सुन्ने र पार्टीका आगामी राजनीतिक यात्राका लागि आधार तयार गर्ने उद्देश्य रहेको रास्वपाका जिल्ला सभापति प्रवीणकुमार ढकालले बताए । उनका अनुसार अभियानलाई केवल राजनीतिक भेटघाटमा मात्रै सीमित नराखी जनताको घरदैलोमा पुगी वास्तविक समस्याबारे जानकारी लिई त्यसको सम्बोधनका लागि केन्द्रलाई सुझाव दिइने छ  । उनले भने, “यस अभियानले जिल्लाको राजनीतिक अवस्था र नागरिकको अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरेका छौँ ।”
 

कमेन्ट लोड गर्नुस