सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षाले भिजायो किसानको धान, पाकेको बाली खेतमै बिग्रिने चिन्ता

२०८३ असोज २१, ०३:०८ लक्ष्मण ढुङ्गाल

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी ७५ वर्षीया धनमती धानुक अहिले भिजेको धान उठाएर सुरक्षित ठाउँमा सार्न व्यस्त छिन्। गत आइतबार काटेर सुकाउन राखेको उनको धान वर्षाको पानीले पूरै भिजेको छ। खेतमा पानी जमेकाले धान उठाएर सुख्खा ठाउँमा राख्नसमेत उनलाई समस्या भएको छ।
उमेरले ज्येष्ठ नागरिक भएकी धनमतीलाई वर्षाका कारण धान जोगाउन निकै कठिन भएको छ। यसवर्ष धान उत्पादन राम्रो हुने आशा गरेकी उनी पाकेको बाली नै वर्षाले बिगारेपछि चिन्तित छिन्। ‘दिनभर पानीमै धान बटुल्नुपरेको छ, उमेरले पनि काम गर्न गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘यसपालिको धान खेती नै बिग्रिएजस्तो भयो।’

सोही वडाकी डम्मरा विष्टको अवस्था पनि उस्तै छ। खेतमा पानी जमेकाले उनले नाला काटेर पानीको निकास गर्ने प्रयास गरिरहेकी छन्। उनको खेतमा पाकेको धान पानीले भिजेको छ। स्थानीय कलशी धानुकका अनुसार मौसमको पूर्वानुमानबारे समयमै जानकारी नहुँदा पाकेको धान काटिएको हो। काटेर सुकाउन राखेको धानमा पानी परेपछि अब धानको गुणस्तरसमेत बिग्रिने चिन्ता किसानमा छ।

उनले सम्बन्धित निकायले मौसममा हुन सक्ने परिवर्तनबारे किसानलाई समयमै जानकारी गराउनुपर्ने बताइन्। रुझेको धानबाट उत्पादन हुने चामलको गुणस्तर राम्रो नहुने उनको अनुभव छ। धनगढीकै अर्की किसान धौलिदेवी सुनारको समस्या पनि उस्तै छ। समथर जमिन भएकाले उनको खेतमा पानी जमेको छ। काटेको धान राख्ने ठाउँसमेत अभाव भएपछि भिजेको धान कसरी सुकाउने भन्ने चिन्ता उनलाई छ।

यसपटक कैलाली र कञ्चनपुरका केही किसानले अघौटे जातको धान खेती गरेका थिए। धान पाकेपछि कतिपय किसानले काटेर खेतमै सुकाउन थालेका थिए । तर, वर्षा भएपछि काटेर राखिएको धानमा पानी भरिएको छ। कतिपय किसानले धान थ्रेसर गरेर राखिसकेका थिए भने थ्रेसरपछि व्यवस्थापन गर्न नपाउँदै परेको पानीले परालसमेत भिजाएको छ। 

मौसममा अझै कति दिनसम्म परिवर्तन रहने हो भन्ने स्पष्ट जानकारी नहुँदा किसान थप चिन्तित छन्। किसानहरूले मौसमको पूर्वसूचना समयमै पाउन सके पाकेको बाली काट्ने वा सुरक्षित स्थानमा राख्ने विषयमा निर्णय गर्न सहज हुने बताएका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस