सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसलः के–के पाउँछ ? कति रुपैयाँ छुट ?
धनगढीः सुदूरपश्चिमका आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ। उपभोक्तालाई राहत दिने उद्देश्यले साल्ट ट्रेडिङ कर्पोरेसनले आठ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको हो। कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी, डोटीको दीपायल, डडेल्धुरा र बैतडीको पाटनमा सहुलियत पसल सञ्चालनमा छन्।
सहुलियत पसलमा चिनी प्रतिकिलो एक सय रुपैयाँमा बिक्री भइरहेको छ। बजार मूल्यभन्दा प्रतिकिलो २५ रुपैयाँसम्म सस्तो भएपछि चिनी खरिद गर्ने उपभोक्ताको भीड बढी देखिएको साल्ट ट्रेडिङले जनाएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका प्रमुख रूपबहादुर कुँवरका अनुसार तराईका सहुलियत पसलबाट एक जनालाई पाँच किलो र पहाडी जिल्लामा तीन किलोसम्म चिनी बिक्री गर्ने व्यवस्था गरिएको छ। धनगढीस्थित कार्यालय परिसरबाट मात्रै दैनिक करिब २५ क्विन्टल चिनी बिक्री भइरहेको छ।
यस्तै, नुन प्रतिकिलो २४ रुपैयाँका दरले एक जनालाई छ किलोसम्म उपलब्ध गराइएको छ भने खानेतेल, दाल र चिउरामा प्रतिकिलो सात रुपैयाँसम्म छुट दिइएको छ। चाडपर्वमा दैनिक उपभोग्य वस्तुको माग बढेसँगै बजार मूल्यसमेत बढ्न सक्ने भएकाले सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ।
सहुलियत पसल बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भइरहेका छन्। उपभोक्ताले भने चाडपर्वमा मात्रै नभई वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न माग गरेका छन्।