धनगढीमा डिजिटल बोर्डसँगै सुदूरपश्चिम चिनाउने २३ वटा पुस्तिका विमोचन
धनगढीः सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले धनगढीमा डिजिटल बोर्ड स्थापना गर्नुका साथै २३ वटा प्रवद्र्धनात्मक पुस्तिका विमोचन गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ स्थित जेन्जी मार्गको पार्कमा स्थापना गरिएको डिजिटल बोर्डको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेका हुन्। सोही अवसरमा उपमहानगरपालिकाले तयार पारेका ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ मूल नारासहितका २३ वटा प्रवद्र्धनात्मक पुस्तिकासमेत विमोचन गरिएको हो।
विभिन्न राजनीतिक दलका नेता, शिक्षाविद् तथा संघसंस्थाका प्रतिनिधिहरूले पुस्तिकाको विमोचन गरेका थिए। उद्घाटन समारोहमा धनगढीवासीसहित विभिन्न क्षेत्रका नागरिकको उपस्थिति रहेको थियो। डिजिटल बोर्डमार्फत सुदूरपश्चिमका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको पहिचान र विशेषताबारे जानकारी गराउने लक्ष्य राखिएको छ।
आधुनिक प्रविधिको प्रयोग गरी प्रदेशका महत्वपूर्ण गन्तव्य तथा सम्पदाको प्रचारप्रसार गर्न बोर्डले सहयोग पु¥याउने महत्त्वपूर्ण माध्यमका रुपले हेरिएको छ। त्यस्तै, विमोचन गरिएका २३ वटा पुस्तिकामा सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलका बारेमा विस्तृत जानकारी समेटिएको छ।
पुस्तिकाले प्रदेशका ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्न तथा आन्तरिक र बाह्य पर्यटकलाई ती स्थानबारे जानकारी दिन सहयोग पुग्ने विश्वास लिइएको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, मौलिक संस्कृति र ऐतिहासिक महत्वले भरिपूर्ण सुदूरपश्चिमका सम्पदालाई डिजिटल प्रविधि र प्रचारात्मक सामग्रीमार्फत व्यापक रूपमा चिनाउने उद्देश्यले यो पहल गरिएको हो।
डिजिटल बोर्डको स्थापना र प्रवद्र्धनात्मक पुस्तिकाको प्रकाशनले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै धनगढीलाई आधुनिक, व्यवस्थित र पर्यटकीय गतिविधिको केन्द्रका रूपमा विकास गर्ने अभियानमा समेत सहयोग पुग्ने आस गरिएको छ।