प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई
कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आइतबार सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्र बमको जोडीले जितेको छ।
फाइनल खेलमा झलारीका विवेक ऐर र परमानन्द जोशीको जोडीलाई दुई सोझो सेटले पराजित गर्दै राजेन्द्र बम र नरेन्द्र जैसीको टिमले उपाधि जितेको हो। बम र जैसीको जोडीले ऐर र जोशीको जोडीलाई २१–१७ र दोस्रो सेटमा २१–१५ ले पराजित गरेको छ। उपाधि विजेता जोडी रु ४० हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत भएको छ। भने उपविजेता टिमले रु २० हजार नगदसहित पुरस्कृत भएको छ।
दसैँ र शुभ दिवापलीको अवसर पारेर शुक्लाफाँटा ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगिताको कञ्चनपुर निर्वाचन क्षेत्र नं २ स्तरीय प्रतियोगिताको उपाधि राष्ट्रिय समाचार समिति (रासस) कञ्चनपुरका प्रमुख शेरबहादुर सिंहको जोडीले जितेको छ। प्रतियोगितामा सिंह र डम्बर कुवँरको जोडीले तेजबहादुर साउद र तेज जोशीको जोडीलाई सोझो सेटमा पराजित गरेको छ।
सिंह र कुवँरको जोडीले २१–१४ र २१–१० को सोझो सेटमा साउँद र जोशीको जोडीलाई पराजित गरेको शुक्लाफाँटा व्याडमिन्टन सङ्घका अध्यक्ष पुष्पराज भट्टले बताए। निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिताको उपाधि जित्दै सिंह र कुवँर ३० हजार नगद, ट्रफि र मेडलबाट पुरस्कृत भएका छन् भने उपविजेता साउद र जोशीको जोडी १५ हजार नगदसहित पुरस्कृत भएको छ। प्रतियोगितामा उपाधि विजेता, उपविजेता मिटलाई शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले पुरस्कृत गरे। प्रतियोगितामा प्रदेश खुला बी लेभलतर्फ ६४ र निर्वाचन क्षेत्रस्तरीयमा ३२ समूह सहभागी थिए।