सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली कांग्रेसको प्रदेश प्रतिनिधिमा पन्त निर्विरोध

२०८३ असोज २९, ०५:०६ खबर संवाददाता

कैलालीः नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन (इतर पक्ष) का लागि कैलाली क्षेत्र नम्बर ५ (ख) बाट भूपेशराज पन्त प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय पन्तले नेसनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीबाट आफ्नो विद्यार्थी राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि ऐश्वर्य बहुमुखी क्याम्पसमा समेत नेपाल विद्यार्थी संघको राजनीतिलाई निरन्तरता दिँदै आएका उनी लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्।

विद्यार्थी राजनीतिमार्फत लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई आत्मसात् गर्दै आएका पन्त सामाजिक सेवाका क्षेत्रमा समेत क्रियाशील छन्। विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई सामाजिक तथा राजनीतिक क्षेत्रमा उपयोग गर्दै आएका पन्तले युवा पुस्ताको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई समाज तथा राष्ट्र निर्माणमा जोड दिनुपर्ने मान्यता उनको छ। 

उनले प्राप्त जिम्मेवारीलाई व्यक्तिगत उपलब्धिका रूपमा मात्र नभई पार्टी, समाज र जनताप्रतिको थप दायित्वका रूपमा लिएको बताएका छन्। नेपाली कांग्रेसको सङ्गठनलाई सुदृढ बनाउने, कार्यकर्ताबीच आपसी एकता र सद्भाव कायम गर्ने, युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने तथा जनताका आवाजलाई पार्टीका विभिन्न तहसम्म पुर्‍याउने विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

विद्यार्थी राजनीतिबाट सुरु भएको आफ्नो राजनीतिक यात्रालाई सामाजिक जिम्मेवारीसँग जोड्दै आएका पन्तले आगामी दिनमा पनि अग्रजहरूको मार्गदर्शन, सहकर्मीहरूको सहकार्य र कार्यकर्ताको साथ लिएर पार्टीको सङ्गठनात्मक विकास तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहने बताएका छन्।

कमेन्ट लोड गर्नुस