डडेल्धुरामा रास्वपा सांसद जोशी ‘लखेटिएको’ हुन् ?
धनगढीः गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद डा. ताराप्रसाद जोशी स्थानीयबाट लखेटिएको भन्दै आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो। ‘नागरिकसँग प्रत्यक्ष संवाद’ कार्यक्रमका लागि परशुराम नगरपालिका–४, रज्यौडा पुगेका सांसद जोशीलाई स्थानीयले लखेटेको दाबी गर्दै कांग्रेसनिकट नेपाल तरुण दलका परशुराम नगर अध्यक्ष अर्जुन बोहराले फेसबुकमा स्टाटस लेखेका थिए। त्यसपछि उक्त स्टाटस र भिडियो अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि साझा गरेका थिए।
रास्वपा डडेल्धुराका अनुसार रज्यौडामा सांसद जोशी पुग्दा डिभिजन वन कार्यालयले खेती गर्न रोक लगाएपछि समस्यामा परेका स्थानीयले आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए। छलफलमा चार–पाँच जना पाका उमेरका स्थानीय सहभागी थिए भने केही युवाले भिडियो खिचिरहेका थिए। स्थानीयले बगरखेती गर्न नपाएको विषय उठाउँदै ‘घण्टी सरकारले बिचल्लीमा पार्यो’ भन्दै असन्तुष्टि जनाएका थिए। सोही भिडियो सार्वजनिक गर्दै रास्वपा सांसद जोशी लखेटिएको दाबी गरिएको थियो।
सांसद जोशीले भने आफूलाई स्थानीयले लखेटेको भन्ने दाबी अस्वीकार गरेका छन्। ‘नागरिकका गुनासा सुन्ने काम भइरहेको थियो, अनावश्यक भ्रम फैलाइएको छ,’ जोशीले भने। सांसद जोशीलाई स्थानीयले लखेटेको भन्ने सूचना फैलिएपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाबारे चासो देखाएको थियो। लखेटिएको दाबीसहित सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गरेको विषयमा बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढामा बोलाइएको थियो। प्रहरीले घटनाबारे सोधपुछ गर्दै सामाजिक सञ्जालमा राखिएको पोस्ट सच्याउन निर्देशन दिएको जनाएको छ।