सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेट विवादमा सरकारमाथि कांग्रेसको दबाब, राजीनामाको माग दोहोर्‍यायो

२०८३ कार्तिक ९, ०५:२४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रकरणलाई लिएर नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग दोहोर्‍याएको छ। बजेटमा गम्भीर त्रुटि भएको स्वीकार गरिसकेको अवस्थामा नैतिक जिम्मेवारी लिँदै मुख्यमन्त्रीसहित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसको माग छ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग गर्ने निर्णय गरेको हो। संसदीय दलका नेता कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले बजेट प्रकरणमा सभामुख भीमबहादुर भण्डारीको भूमिकामाथि समेत प्रश्न उठाएको छ।

यसअघि पनि शाहले पत्रकार सम्मेलनमार्फत मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग गरेका थिए। प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको अवस्थामा सरकारमा रहेका पदाधिकारीले नैतिक जिम्मेवारी लिनुपर्ने कांग्रेसको ठहर छ।

बजेटजस्तो गम्भीर विषयमा प्रतिपक्षविहीन अवस्थामा प्रदेशसभा सञ्चालन गर्ने अभ्यास सभामुखबाटै सुरु भएको कांग्रेसको आरोप छ। अर्थमन्त्रीले बजेट गलत भएको स्वीकार गरिसकेको अवस्थामा समेत प्रतिपक्षसँग छलफल र संवाद नगरी तथा आवश्यक जानकारीसमेत नदिई बजेट पारित गर्ने प्रक्रिया अघि बढाइएको कांग्रेसले जनाएको छ।

कांग्रेसका अनुसार सभामुखले बजेट प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने र पूरक बजेट ल्याउने घोषणा गरे पनि बजेटसम्बन्धी निर्णयार्थ प्रस्ताव प्रस्तुत गर्नु गैरसंसदीय अभ्यास हो। यस्तो गम्भीर विषयमा सभामुखले आफ्नो पदीय मर्यादा, बजेटको महत्त्व तथा कानुनी र संवैधानिक मूल्यमान्यतालाई बेवास्ता गरेको कांग्रेसको निष्कर्ष छ।

कमेन्ट लोड गर्नुस