सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपीएलः आज विराटनगर, चितवन तथा कर्णाली, जनकपुर खेल्ने

२०८३ कार्तिक १०, ०८:१९ खबर संवाददाता

काठमाडौँः नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन्।

यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ। 

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन्। त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन्।

विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन्। त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन्।

त्यस्तै, साँझ मैदान उत्रिन लागेको जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन्। जनकपुरमा उनीबाहेक कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश छन्।

त्यसैगरी, जनकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि छन्। जनकपुरविरुद्ध मैदान उत्रिने कर्णालीको टिममा सोमपाल कामी कप्तान छन्। यस टिममा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ छन्। त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन्।

सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मङ्सिर १ गते पहिलो स्थान र दोस्रो स्थानका टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ। मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ। मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। मङ्सिर ५ गते फाइनल भिडन्त तय भएको छ।

कमेन्ट लोड गर्नुस