बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न युनिसेफको सुझाव
काठमाडौँ : संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को नयाँ पैरवी प्रतिवेदनले नेपालका बालबालिकामा बढ्दो जलवायु र वातावरणीय जोखिम सम्बोधनका लागि बालबालिकामैत्री जलवायु कार्यमा थप लगानी गर्न सुझाएको छ ।
युनिसेफले आज सार्वजनिक गरेको प्रतिवेदनले नेपालका लाखौँ बालबालिका बढ्दो जलवायु, वातावरणीय तथा विपद्का जोखिमबीच हुर्किरहेकाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा, सुरक्षा तथा भविष्यमा गम्भीर असर गरिरहेकोतर्फ सचेत गराएको छ ।
प्रतिवेदनले जलवायु परिवर्तनले नेपालका बालबालिकाको बाल्यकाल तथा बालापन र भविष्यलाई कसरी प्रभावित गरिरहेको छ भन्ने देखाउँदै जलवायु नीति, बजेट तथा कार्यक्रममा बालबालिकालाई केन्द्रमा राखी तत्काल कदम चाल्न आग्रह गरेको छ ।
प्रतिवेदनका अनुसार नेपालमा ७३ लाख बालबालिका खडेरीको सम्मुखमा छन्, जसले खानेपानी, जीविकोपार्जन, कृषि उत्पादन र पोषणमा जोखिम सृजना गरिरहेको छ ।
यसैगरी, ५७ लाख बालबालिका अत्याधिक गर्मीको सम्मुखमा छन्, जसले उनीहरूको स्वास्थ्य, सिकाइ र दैनिकी प्रभावित गरिरहेको छ । यस्तै २९ लाख बालबालिका वर्षाका कारण हुने पहिरोको सम्मुखमा छन् ।
प्रतिवेदनमा जलवायु परिवर्तनबाट बालबालिका प्रत्यक्ष जोखिममा परेका तथा उनीहरूका लागि अत्यावश्यक आधारभूत सेवामाथि पनि दबाब बढाइरहेको उल्लेख छ ।
“जलवायु सङ्कट क्रमशः बाल अधिकार सङ्कटका रूपमा परिणत हुँदै गएको छ”, युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले भने, “जलवायु परिवर्तनको समस्या सृजनामा बालबालिकाको योगदान नगण्य भए पनि यसको सबैभन्दा गम्भीर असर उनीहरूले भोगिरहेका छन् हरेक बाढी, खडेरी, अत्यधिक गर्मी तथा प्रदूषणका घटनाले उनीहरूको स्वास्थ्य, पोषण, शिक्षा र सुरक्षामाथि प्रत्यक्ष प्रभाव पारिरहेको छ ।”
प्रतिवेदनले जलवायु सङ्कटको असर सबै बालबालिकामा समान रूपमा नभएको र गरिब परिवारका बालबालिका, बालिका, अपाङ्गता भएका बालबालिका, ऐतिहासिक रूपमा सीमान्तकृत समुदायका बालबालिका तथा दुर्गम र जलवायु जोखिमयुक्त क्षेत्रमा बस्ने बालबालिकाले तुलनात्मक रूपमा अत्यधिक जोखिम सामना गरिरहेको जनाएको छ ।
बालबालिका तथा युवामैत्री जलवायु कार्यमा एक महत्त्वपूर्ण कदम चाल्दै नेपाल सरकारले यही महिनामा सम्पन्न राष्ट्रिय जलवायु सम्मेलनका अवसरमा ‘बालबालिका, युवा तथा जलवायु कार्यसम्बन्धी घोषणापत्र’ औपचारिक रूपमा अनुमोदन गरेको छ ।