बोगटान फुड्सिलको पुरुष भलिबल रनिङ शिल्ड वडा नम्बर १ लाई, चौथोपटक बन्यो च्याम्पियन
धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकास्तरीय आठौँ पुरुष भलिबल रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर १ सिमचौरले जितेको छ। फाइनलमा वडा नम्बर ७ चवाँराचौतारालाई पराजित गरेको सिमचौरले चौथोपटक च्याम्पियन बन्ने सफलता हासिल गरेको हो।
गाउँपालिका वडा नम्बर ७ को आयोजनामा गत कात्तिक १६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका टोली सहभागी थिए। फाइनल प्रतिस्पर्धामा वडा नम्बर १ ले उत्कृष्ट खेल प्रदर्शन गर्दै वडा नम्बर ७ लाई पराजित गरी उपाधि आफ्नो पक्षमा पारेको हो। प्रतियोगितामा वडा नम्बर ७ चवाँराचौतारा उपविजेता बन्दा वडा नम्बर २ केदारअखडा तेस्रो भएको छ।
उपाधि विजेता वडा नम्बर १ ले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको वडा नम्बर ७ ले ५० हजार र तेस्रो भएको वडा नम्बर २ ले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्। व्यक्तिगत विधातर्फ वडा नम्बर १ का दिनेशसिंह ठकुरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। वडा नम्बर ७ का निर्मल नेपाली उत्कृष्ट स्पाइकर, वडा नम्बर १ का भीम खड्का उत्कृष्ट लिब्रो, वडा नम्बर ७ का लोकेन्द्र गड्सिला उत्कृष्ट ब्लकर, वडा नम्बर १ का लक्ष्य धामी उत्कृष्ट सेटर र वडा नम्बर २ का हिक्मत बम ठकुरी उत्कृष्ट सर्भर घोषित भएका छन्। यस्तै, वडा नम्बर ७ का खेम कुड्माल उदयमान खेलाडी बनेका छन्। सर्वोत्कृष्ट खेलाडीले चार हजार तथा अन्य विधाका उत्कृष्ट खेलाडीले जनही दुई हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
‘खेलकुद जीवन–अनुशासनको पहिचान, कुलत र कुसंस्कारविरुद्धको अभियान’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले युवामा अनुशासन, आपसी सद्भाव र एकताको भावना विकास गर्नुका साथै कुलत तथा कुसंस्कारविरुद्ध सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ। वडा नम्बर ७ का अध्यक्ष खेम घर्तीमगरले प्रतियोगिताले युवालाई अनुशासित, जिम्मेवार र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने जनप्रतिनिधि, खेलाडी, खेलप्रेमी, रेफ्री, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी सबैलाई धन्यवाद दिएका छन्।