बडीकेदार धामको मेलामा भारतीय श्रद्धालुलाई निमन्त्रणा
धनगढी: डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदार धाममा आगामी मंसिर ५, ६ र ७ गते आयोजना हुने धार्मिक मेला (जाँत) मा सहभागी हुन भारतीय श्रद्धालुलाई निमन्त्रणा गरिएको छ।
मेलामा भारतीय धार्मिक पर्यटकको सहभागिता बढाउने उद्देश्यले भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाको पलियामा पत्रकार सम्मेलन गरिएको छ।
बडीकेदार पर्यटन विकास तथा व्यवस्थापन समिति डोटीको आयोजनामा भएको पत्रकार सम्मेलनमा धामको धार्मिक तथा ऐतिहासिक महत्व, मेलाको तयारी र भारतीय धार्मिक पर्यटकको सहभागिताका विषयमा जानकारी गराइएको थियो।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष उपेन्द्र बम र कार्यकारी निर्देशक गणेश जोशीले बडीकेदार धाम नेपाल र भारतका श्रद्धालुहरूको साझा आस्थाको केन्द्र रहेको बताए। धामको धार्मिक तथा सांस्कृतिक महत्व भारतीय श्रद्धालुमाझ प्रचारप्रसार गरी यसवर्षको मेलामा उनीहरूको उल्लेख्य सहभागिता गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनीहरूको भनाइ थियो।
भगवान् शिवको पवित्र निवासस्थलका रूपमा पूजिने बडीकेदार धाम ठूलाकेदार र बड्डाकेदारका नामले समेत परिचित छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक परम्पराको संगमका रूपमा रहेको यस धाममा हरेक वर्ष धार्मिक मेला लाग्ने गर्छ।
मेलामा सुदूरपश्चिमका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेशबाट समेत ठूलो संख्यामा श्रद्धालु आउने गरेका छन्। यसवर्ष भारतीय धार्मिक पर्यटकको सहभागिता थप बढाउन प्रचारप्रसार र निमन्त्रणालाई प्राथमिकता दिइएको समितिले जनाएको छ।
अध्यक्ष बमले भारतीय सञ्चारमाध्यमका प्रतिनिधि र स्थानीय धार्मिक अगुवामार्फत बडीकेदार धामको धार्मिक महत्व तथा मेलाको सन्देश प्रचारप्रसार गर्ने उद्देश्यले पलियामा पत्रकार सम्मेलन गरिएको जानकारी दिए।