सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा सहज बनाइयो दृश्यावलोकन, पर्यटकको बढ्याे चहलपहल

२०८३ कार्तिक २१, ०६:०० अनुभव भट्ट

धनगढीः कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्न थालेको छ। दसैँ–तिहारलगायतका चाडपर्वको बिदा र वर्षायामपछि जंगल सफारी पुनः सञ्चालनमा आएसँगै निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो।

निकुञ्जका सूचना अधिकारी विक्रम चौधरीका अनुसार असोज २८ देखि कात्तिक १९ गतेसम्मको २३ दिनमा एक हजार ७७ जना पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। भ्रमण गर्नेमा एक हजार ४२ जना नेपाली, सार्क राष्ट्रका २५ जना र अन्य विदेशी १० जना रहेका छन्। गत वर्षको तुलनामा यसवर्ष पर्यटक आगमन बढेको चौधरीले बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत मुरेन्द्र अर्यालका अनुसार वर्षायामका कारण बन्द गरिएको जंगल सफारी असोज २८ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो। सफारी सुरु भएसँगै दैनिक ८ देखि ९ वटा सवारीसाधन निकुञ्जभित्र प्रवेश गरिरहेका छन्। चाडपर्व मनाउन घर फर्किएका कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्ला तथा देशका अन्य क्षेत्रका पर्यटकसमेत निकुञ्ज अवलोकनका लागि पुग्न थालेका छन्। विदेशी पर्यटकको आगमन तुलनात्मक रूपमा कम भए पनि आन्तरिक पर्यटकको उपस्थिति उत्साहजनक रहेको रेन्जर चौधरीले बताए। तिहारका बेला पर्यटकको सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ।

३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वकै ठूलो बाह्रसिङ्गाको झुण्ड अवलोकन गर्न पाइने गन्तव्यका रूपमा परिचित छ। निकुञ्जमा दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटेबाघ, २० भन्दा बढी गैँडा तथा साढे चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गी पाइन्छन्।

निकुञ्ज प्रवेशका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकले ७५० रुपैयाँ र अन्य विदेशी पर्यटकले १ हजार ५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।

पर्यटकलाई सहज रूपमा निकुञ्ज अवलोकन गराउन र जंगल सफारी व्यवस्थित बनाउन भित्री सडक तथा सफारी मार्गको सरसफाइसमेत गरिएको छ। विशेषगरी बाह्रसिङ्गा अवलोकन गर्न सकिने फाँटमा लामो घाँस काटेर दृश्यावलोकन सहज बनाइएको प्रमुख संरक्षण अधिकृत अर्यालले बताए। वर्षायामपछि पुनः सुरु भएको जंगल सफारी, चाडपर्वको बिदा र आन्तरिक पर्यटकको बढ्दो आकर्षणले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन गतिविधि थप विस्तार हुने अपेक्षा गरिएको छ।

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस