कैलालीमा खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु
धनगढी : कैलालीमा ट्याक्टरबाट खसेर रोटाभेटरमा परी एक बालकको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ लिम्कामा शुक्रबार आफ्नै खेत जोत्ने क्रममा ट्याक्टरबाट खसेर ७ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको हो।
प्रहरीका अनुसार दिउँसो करिब १ः५० बजे सुशान्तका बुवा ३७ वर्षीय खडकबहादुर चौधरीले से २ त ३६७२ नम्बरको ट्याक्टरले खेत जोतिरहेका थिए। सोही ट्याक्टरमा सवार सुशान्त अचानक खसेर पछाडिको भागमा जोडिएको रोटाभेटरमा परेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि आफन्तले बालकको शव घरमा ल्याएका थिए। प्रहरीले ट्याक्टर र चालक खडकबहादुरलाई नियन्त्रणमा लिएको छ। ट्याक्टरका साहु ४० वर्षीय खुसीराम चौधरी प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक हिरासिंह महराको कमान्डमा टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।