सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि

२०८३ कार्तिक २८, ०७:०२ खबर संवाददाता

धनगढीः १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि सुदूरपश्चिम प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन प्रदेशले ३० वटा खेलका खेलाडी छनोट गर्न लागेको हो।

प्रदेश खेलकुद परिषद्ले कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ। प्रतियोगिता कैलाली, कञ्चनपुर र डडेल्धुरामा आयोजना हुनेछ। डडेल्धुरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेछ। कैलालीमा फुटबल, एथलेटिक्स, क्रिकेट, बास्केटबल, ह्यान्डबल, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, बक्सिङ, उसु, खोखो, सुटिङ, जिम्न्यास्टिक, रग्बी, भारोत्तोलन, शारीरिक सुगठन र ई–स्पोट्र्सका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, कञ्चनपुरमा कबड्डी, तेक्वान्दो, कराँते, फुलकन्ट्याक्ट कराँते, आईटीएफ तेक्वान्दो, कुस्ती र जुडोका खेल सञ्चालन हुनेछन्। प्रदेशका नौवटै जिल्लाबाट छनोट भएर आएका दुई हजार ४६४ खेलाडीले प्रदेशस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। जिल्ला तहबाट छनोट भएका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोलीमा समावेश गरिनेछ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव लोकबहादुर खड्का ‘रवि’ले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले छनोट प्रतियोगितामा सहभागी हुने सबै खेलका खेलाडीलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। ‘प्रदेश छनोट सम्पन्न गरेर हामी राष्ट्रिय खेलकुदमा जितको लक्ष्यसहित जाँदैछौँ,’ उनले भने।

परिषद्का अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७४४ जनाको सहभागिता रहनेछ। छनोटपछि राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने अन्तिम टोली तयार गरिनेछ।

कमेन्ट लोड गर्नुस