सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजदेखि ५ गतेसम्म लगातार भेला र बैठकमा जुट्यो एमाले

२०८३ मंसिर १, ०६:१५ खबर संवाददाता

काठमाडौँः मङ्सिर १ गते आजदेखि ५ गतेसम्म नेकपा एमाले लगातार बैठक र भेलामा जुट्ने भएको छ।

आज स्थायी कमिटी बैठक बोलाएको एमालेले २ र ३ गते राष्ट्रिय भेला गर्दैछ। मङ्सिर ४ गते स्थानीय तहका प्रतिनिधिहरूको भेला आयोजना गरेको एमालेले ५ गते चौथो केन्द्रीय कमिटी बैठक बोलाएको छ। राष्ट्रिय भेलामा केन्द्रीय कमिटी सदस्यदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधि सम्म गरी ३ हजार ४१४ सहभागी हुने भएका छन्।

राष्ट्रिय भेला काठमाडौँको कार्की बैंकेटमा हुनेछ भने स्थायी कमिटी, केन्द्रीय कमिटी र स्थानीय तहका प्रतिनिधिहरूको भेला पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। एमालेले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले भेला आयोजना गर्न लागेको जनाएको छ।

असोज ५ देखि ८ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भएर कार्यान्वयन गर्ने विषयलाई भेलाको मुख्य उद्देश्य बनाइएको छ।

भेलामा अध्यक्ष ओलीले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै पार्टीको दृष्टिकोण, आगामी कार्यदिशा तथा दुई प्रमुख कार्यभार र १५ कामबारे राजनीतिक तथा वैचारिक मार्गदर्शन गर्ने कार्यक्रम छ। पूर्वराष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषय र पार्टीको कार्यभारबारे विशेष सम्बोधन गर्नेछिन्।

उपाध्यक्ष रामबहादुर थापाले संसदीय सङ्घर्षसम्बन्धी अभिभाराबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका काम र उपलब्धिको समीक्षा प्रस्तुत गर्नेछन् भने महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सोमबार पत्रकार सम्मेलन गरेर एमालेले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस