सुदूरपश्चिमका किसानको दुर्दशा : धान बेच्न रातभर लाइन, ट्याक्टरमै बास
धनगढीः सरकारले कृषिमा आत्मनिर्भर बन्ने र उत्पादन बढाउने नारा लगाइरहे पनि उत्पादित कृषि उपज बिक्री गर्न किसानले भने सास्ती खेप्दै आएका छन्। धान बिक्री गर्नकै लागि दिनरात लाइन बस्नुपर्ने, ट्याक्टरमै रात बिताउनुपर्ने र बिक्री नभएको धान फेरि घर फर्काउनुपर्ने बाध्यता रहेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कैलालीस्थित मोहनपुर धान खरिद केन्द्रमा धान बिक्री गर्न आएका किसानको सास्ती यसवर्ष पनि उस्तै छ। खरिद कोटा सीमित हुने र कोटा सकिए धान बिक्री गर्न नपाइने चिन्ताले किसानहरू एक दिनअघिदेखि नै केन्द्रअगाडि लाइन लाग्न बाध्य भएका छन्। जिल्लाका विभिन्न स्थानबाट धान लिएर आएका किसान कोही भोकभोकै पालो कुरिरहेका छन् भने कतिपयले ट्याक्टरमै रात बिताइरहेका छन्।
यसवर्ष कम्पनीले प्रतिकिसान ३० क्विन्टल मात्रै धान खरिद गरिरहेको छ। गतवर्ष प्रतिकिसान ५० क्विन्टलसम्म खरिद गरिएको थियो। खरिदको सीमा घटाइएको जानकारी किसानलाई समयमै नदिइएकाले धेरैले पुरानै परिमाणमा धान ल्याएका छन्। फलस्वरूप कतिपय किसानले बिक्री गर्न नपाएको धान फिर्ता लैजानुपर्ने अवस्था आएको छ।
धान बिक्री गर्न दुई दिनसम्म लाइनमा बस्नुपर्दा किसानको समय मात्रै खेर गएको छैन, ट्याक्टर भाडासमेत बढेको छ। अहिले गहुँको बीउ छर्ने समय भएकाले खेतबारीको काम छाडेर धान बिक्रीका लागि कुर्नुपर्दा थप समस्या भएको किसानहरूको गुनासो छ। त्यसमाथि मोहनपुर केन्द्रमा एउटा मात्रै तौल गर्ने काँटा हुँदा खरिद प्रक्रिया सुस्त बनेको छ।
गोदावरी नगरपालिका–८, श्रीपुरबाट धान बिक्री गर्न आएका मगतरामले बिहान ४ बजे नै मोहनपुर पुगे पनि दिउँसो १ बजेसम्म लाइनमै बस्नुपरेको बताए। खरिद केन्द्रमा एउटा मात्रै काँटा हुँदा तौल गर्न ढिलाइ भइरहेको उनको भनाइ छ।
‘यति धेरै मेहनत गरेर धान उत्पादन गर्छौँ, बिक्री गर्न आउँदा पनि दुःख झेल्नुपर्छ,’ उनले भने, ‘कोटा कम भएकाले गल्ला व्यापारीहरूको मनपरी बढेको छ। त्यसलाई रोक्न उनीहरूले खरिद गर्ने धानको मूल्यसमेत सरकारले तोकेर प्रभावकारी अनुगमन गरिदिए हामीलाई सहज हुन्थ्यो।’
चटकपुरबाट धान बिक्री गर्न आएकी कृषक भागरथी कार्कीको समस्या पनि उस्तै छ। उनी एक दिनअघिदेखि नै धान खरिद केन्द्रको परिसरमा धान राखेर पालो कुरिरहेकी थिइन्। ल्याएको धानसमेत बिक्री नभएर फिर्ता लैजानुपर्ने अवस्था सिर्जना भएपछि थप समस्या भएको उनले बताइन्। ‘यस्तै झन्झट हुने भएकाले यसअघि त बाहिरै धान बिक्री गर्ने गरेकी थिएँ,’ उनले भनिन्, ‘हामीले उत्पादन बढाइरहेका छौँ, सरकारले पनि बिक्री प्रक्रिया सहज बनाइदिनुपर्छ।’ उनले धान खरिद प्रक्रियालाई व्यवस्थित र सहज बनाउन सरकारसँग माग गरिन्।
ट्याक्टर भाडा कम गर्न दुई–तीन जना किसान मिलेर एउटै ट्याक्टरमा धान ल्याउँदासमेत टोकन पाउन समस्या भइरहेको किसानहरूको गुनासो छ। गोदावरी नगरपालिका–८, माझगाउँबाट धान बिक्री गर्न आएका गोपीलाल चौधरीले एउटै ट्याक्टरमा दुई जना किसानले धान ल्याउँदा टोकन नदिइएको बताए। दुई जना किसानको धान एउटै ट्याक्टरमा ल्याएको भन्दै खरिदमा अविश्वास गर्ने हो भने किसान परिचयपत्रका आधारमा धान खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उनको माग छ। ‘हामीलाई किसान परिचयपत्र प्रदान गरिएको छ, तर त्यसको कुनै मतलब नै भएन,’ उनले भने।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीका प्रमुख दीपक थापाले धेरै किसानले सरकारी मूल्यमा धान बिक्री गर्न पाऊन् भन्ने उद्देश्यले प्रतिव्यक्ति ३० क्विन्टल खरिद गर्ने व्यवस्था गरिएको बताएका छन्। तर किसानहरू भने कम्पनीको यो व्यवस्थाले व्यावहारिक समस्या सिर्जना गरेको बताउँछन्। प्रतिकिसान ३० क्विन्टल मात्रै खरिद गर्ने हो भने किसान परिचयपत्रका आधारमा वास्तविक किसान पहिचान गरी खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ।
धान खरिदको कोटा कम हुने, बिक्रीका लागि लामो समय लाइन बस्नुपर्ने र खरिद प्रक्रियामा झन्झट व्यहोर्नुपर्ने समस्या हरेक वर्ष दोहोरिँदै आएको छ। पर्याप्त धान खरिद गर्न नसक्ने हो भने निजी गल्ला व्यापारीलाई नियमन गर्नुपर्ने र उनीहरूले मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्ति रोक्नुपर्ने किसानहरूको माग छ। व्यापारीले खरिद गर्ने धानको मूल्यसमेत सरकारले निर्धारण गरिदिनुपर्ने उनीहरू बताउँछन्।
बीउ र मल खरिद गर्दादेखि उत्पादित धान बिक्री गर्दासम्म किसानले झन्झट व्यहोर्नुपर्ने अवस्था अन्त्य हुन सकेको छैन। उत्पादन बढाउन प्रोत्साहन गर्ने सरकारले उत्पादित वस्तुको बिक्री र बजारीकरण सुनिश्चित गर्न नसकेको किसानहरूको गुनासो छ। वर्षौँदेखि दोहोरिँदै आएको यो समस्या समाधानका लागि सरकारले पर्याप्त खरिद कोटा, सहज खरिद प्रक्रिया र धानको उचित मूल्य सुनिश्चित गर्नुपर्ने किसानहरूको माग छ।