सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुईपटक उपविजेता बनेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्ला ?

२०८३ मंसिर ४, ११:१५ खबर संवाददाता

धनगढीः नेपाल प्रिमियर लिग (एनपीएल)को इतिहासमा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएर आफ्नो निरन्तरता र प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरिसकेको छ। तर, दुई संस्करणसम्म उपाधिको नजिक पुगेर पनि खाली हात फर्किएको सुदूरपश्चिमका लागि यसपटकको फाइनल केवल उपाधिका लागि हुने प्रतिस्पर्धा मात्रै होइन, विगतका हारको हिसाब मिलाउने अवसरसमेत बनेको छ।

एनपीएलको तेस्रो संस्करणको उपाधिका लागि सुदूरपश्चिम रोयल्सले साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्ने छ। बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। यससँगै सुदूरपश्चिमले गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला लिने अर्को अवसर पाएको छ। यसअघि मंगलबार भएको क्वालिफायर–१ मा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो। तर, दोस्रो क्वालिफायरमा चितवनलाई हराएपछि सुदूरपश्चिमले उपाधि भिडन्तमा लुम्बिनीसँगको भेट पक्का गरेको हो।

सुदूरपश्चिमका लागि यो लगातार तेस्रो फाइनल यात्रा हो। एनपीएलको पहिलो संस्करणदेखि नै उपाधि दाबेदारका रूपमा देखिँदै आएको टोलीले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित हुँदै सुदूरपश्चिम उपविजेतामा सीमित भएको थियो।

दोस्रो संस्करणमा पनि टोलीले फाइनलसम्मको यात्रा तय गर्‍यो। तर, उपाधिका लागि भएको प्रतिस्पर्धामा लुम्बिनी लायन्ससँग पराजित भएपछि लगातार दोस्रोपटक उपविजेतामै चित्त बुझाउनुपर्‍यो। दुई फरक संस्करणमा फाइनल पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले तेस्रोपटक पनि उपाधि भिडन्तमा स्थान बनाएपछि यसपटक इतिहास बदल्ने लक्ष्य राखेको छ।

यसपटकको फाइनलमा प्रतिद्वन्द्वी लुम्बिनी नै हुनु सुदूरपश्चिमका लागि थप अर्थपूर्ण बनेको छ। अघिल्लो संस्करणमा उपाधि खोसिएको टोलीसँगै फेरि उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने भएकाले सुदूरपश्चिमसँग पुरानो हारको हिसाब बराबर गर्ने अवसर छ। जारी संस्करणमा लिग र क्वालिफायर–१ मा लुम्बिनीसँग पराजित भइसकेको छ, सुदूरपश्चिम। ती हारको बदला लिने मौका पनि सुदूरपश्चिमले पाएको छ। 

यता लुम्बिनी लायन्स भने साविक विजेताका रूपमा मैदान उत्रिनेछ। अघिल्लो संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको लुम्बिनी यसपटक पनि उपाधि रक्षा गर्दै एनपीएलमा लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ। यस अर्थमा शनिबार हुने फाइनल दुवै टोलीका लागि प्रतिष्ठाको प्रतिस्पर्धासमेत हुनेछ। 

कमेन्ट लोड गर्नुस