मुन्सीको विस्फोटक शतकमा सुदूरपश्चिम च्याम्पियन, लुम्बिनीसँग हारको बदला
धनगढीः सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै सुदूरपश्चिमले पहिलोपटक उपाधि जितेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्यो। सुदूरपश्चिमको जितमा आक्रामक ब्याटर जर्ज मुन्सीले विस्फोटक ब्याटिङ गर्दै १२५ रनको अविजित शतकीय पारी खेले।
सुदूरपश्चिमले तेस्रो प्रयासमा एनपीएलको उपाधि जितेको हो। पहिलो सिजनमा जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम दोस्रो सिजनमा लुम्बिनी लायन्ससँग ६ विकेटले हारेको थियो। यसपटक भने लुम्बिनीलाई नै फाइनलमा पराजित गर्दै सुदूरपश्चिमले अघिल्लो सिजनको हारको बदला लिएको छ।
उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ पाउँदा तेस्रो भएको चितवन राइनोजले ४० लाख र चौथो भएको काठमाडौं गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्।