सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न विद्यार्थी संगठनको चेतावनी

२०८३ मंसिर १०, ०५:३२ खबर संवाददाता

धनगढीः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्तता र संस्थागत स्थायित्वमा हस्तक्षेप नगर्न सुदूरपश्चिमका दुई विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन्। विश्वविद्यालयका पदाधिकारी हटाउने उद्देश्यले अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयको वर्तमान संरचना र स्वायत्ततामा असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गरेका छन्।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयका लागि निर्धारण गरिएका ९० सिट कुनै पनि बहानामा कटौती वा खारेज नगर्न तथा शैक्षिक कार्यक्रम तत्काल अघि बढाउन माग गरेका छन्। ज्ञापनपत्रमा विश्वविद्यालयको स्थापना सुदूरपश्चिमवासीको दशकौँदेखिको संघर्ष, त्याग र आकांक्षाको प्रतिफल भएको उल्लेख छ। लामो प्रयासपछि २०८३ असोज ३० गते चिकित्सा शिक्षा आयोगको बैठकबाट एमबीबीएससहित स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि कुल ९० सिट निर्धारण हुनु विश्वविद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि महत्त्वपूर्ण उपलब्धि भएको उनीहरूको भनाइ छ।

खुला प्रतिस्पर्धाबाट नियुक्त भएका पदाधिकारीलाई हटाउने उद्देश्यले अध्यादेशमार्फत विश्वविद्यालयको ऐन संशोधन गर्ने प्रयास तत्काल रोक्नसमेत उनीहरूले माग गरेका छन्। ऐन संशोधन आवश्यक भए त्यसको कारण र औचित्य सार्वजनिक गरी विश्वविद्यालयका सरोकारवाला पक्षसँग पर्याप्त परामर्श र कानुनी प्रक्रिया पूरा गरेर मात्रै अघि बढ्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

विद्यार्थी संगठनहरूले विश्वविद्यालयको पहिचान र संस्थागत संरचनामाथि हस्तक्षेप नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्। विश्वविद्यालय कुनै व्यक्ति वा समूहको निजी सम्पत्ति नभई सुदूरपश्चिमवासीको साझा सपना, हजारौँ विद्यार्थीको भविष्य र मुलुकको स्वास्थ्य शिक्षासँग जोडिएको राष्ट्रिय महत्त्वको संस्था भएको उनीहरूको भनाइ छ।

निर्धारित सिट कटौती गर्ने, संस्थागत अस्थिरता सिर्जना गर्ने तथा विश्वविद्यालयको स्वायत्तता कमजोर पार्ने प्रयास नरोकिए विद्यार्थी, अभिभावक, नागरिक समाज र सुदूरपश्चिमवासीको सहभागितामा शान्तिपूर्ण तथा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।

ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट वीरबहादुर थापा र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट रोहित बोगटीले हस्ताक्षर गरेका छन्। ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत बोधार्थ पठाइएको छ।

कमेन्ट लोड गर्नुस