सुदूर नेपाललाई विश्वसँग जोड्दै

ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

२०८३ मंसिर १२, ०९:४० रासस

गण्डकी : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीको रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गरे । त्यसक्रममा उनले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिए । 

मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनका तर्फबाट हाससम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराए । मन्त्री श्रेष्ठले आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी आयोजनाको कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए । 

कूल चार अर्ब ५२ करोड लागत रहेको यस आयोजना रुपातालको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको छ । रुपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमूना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड छ । यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उनले बताए । प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठले उल्लेख गरे। 

मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत गण्डकी प्रदेशका ताल तथा जलाशयहरूको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल गरे । दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा कुराकानी भएको थियो ।

यस्तै मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सब–स्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रको विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिए । अनुगमनका क्रममा उनले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे जानकारी लिए । 

हिउँदमा आन्तरिक उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाउँदै विद्युत आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए । उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिए। 

विद्युत् चुहावटलाई लक्ष्यभन्दा तल झार्ने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्ने मन्त्री श्रेष्ठले बताए। 

कमेन्ट लोड गर्नुस