सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा बस दुर्घटना हुँदा पाँच जना घाइते

२०८३ मंसिर १२, ०९:२७ खबर संवाददाता

धनगढीः अछामबाट धनगढीतर्फ आउँदै गरेको यात्रुबाहक बस शनिबार बिहान डोटीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

ना ५ ख २६२ नम्बरको बस आज बिहान करिब ४ बजेतिर डोटीको जोरायल गाउँपालिका–२ बुडरमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बस भीमदत्त राजमार्गअन्तर्गत प्रहरी प्रशिक्षण स्थल बुडर जाने बाटो नजिक सडकको दायाँतर्फको नालीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा बाजुराको बुढीगंगा गाउँपालिका–७ की ७० वर्षीया गोमा खड्का, बाँकेको जानकी गाउँपालिका–३ की ४६ वर्षीया मनिषा बुढा, अछामको मेल्लेख गाउँपालिका–६ की २५ वर्षीया डम्मरा विक, २३ वर्षीया केशरी विक र २१ वर्षीया सिर्जना भट्ट घाइते भएका छन्। घाइते पाँचै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ। बस अछामको साफेबगर नगरपालिका–३ का २६ वर्षीय आकाश कुँवरले चलाएका थिए।

कमेन्ट लोड गर्नुस