सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नगर स्वास्थ्यकेन्द्रको उद्घाटन

२०७६ माघ ६, ०५:०४ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिकाको ७० लाखको लगानीमा निर्माण गरिएको नगर स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १२ मा निर्माण गरिएको नगर स्वास्थ्यकेन्द्र भवनको सोमबार नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका छन्।

भवनको उद्घाटन गर्दै नगरप्रमुख वडले नगरका बासिन्दाले सहज ढंगले सेवा दिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए। ‘आवश्यकता अनुसार जेष्ठ नागरिकहरुको घरमै पुगेर सेवा दिनुहोला’ नगरप्रमुख वडले भने ‘महिनामा एकपटक अनिवार्य जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मीले भेटेर सेवा दिएको हुनुपर्छ।’

जेष्ठ नागरिकहरुको घरमै पुगेर प्रेसर जाँच गर्ने, सुगर जाँच तथा रगतको नमुना संकलन, परामर्श दिने, औषधी दिने धनगढी उप–महानगरपालिकाको अभियान रहेकाले उनले उक्त काम गर्न स्वास्थ्यकर्मीहरुलाई अनुरोध समेत गरेका थिए। 

त्यस्तै उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रशाद जोशीले आफ्नो वडामा जेष्ठ नागरिकहरुलाई घरमै सेवा दिने काम भइरहेको बताए। 

विगतमा नगर स्वास्थ्यकेन्द्र भएका वडाहरुमा जेष्ठ नागरिकलाई घरमै पुगेर सेवा दिइएको भएपनि अब १९ वटै वडामा ती सेवा पु¥याउने योजना रहेको उप–महानगरले जनाएको छ।
  

कमेन्ट लोड गर्नुस