के तेस्रो विश्वयुद्ध हुन्छ ? यसो भन्छन् ज्योतिषीहरू
भारतको ज्योतिष संस्थान फ्युचर पोइन्ट प्रालिका अध्यक्ष डा अरुण कुमार बंसल भन्छन्, ‘इरान घटनापछि संसारमा अलिकति हलचल त हुनेछ तर कुनै ठूलो युद्ध भने हुने छैन। ६ वटा ग्रहहरू एउटै घरमा एकसाथ आएकाले अहिले उथलपुथल देखिएको हो। तर केही दिनपछि शनि ग्रह मकर राशिमा आएपछि स्थितिमा सुधार आउनेछ।’
सन् १९६२ को भारत चीन युद्धका बेलामा पनि आठवटा ग्रह एकैपटक एउटै घरमा आएका थिए। कारगिल युद्धका बेलामा पनि ६ ग्रह एकसाथ थिए। पोहोर सालको डिसेम्बर महिनादेखि ६ ग्रहहरू केतु, शनि, गुरु, सूर्य, बुध र चन्द्रमा एकसाथ धनु राशिमा आएका छन्। शुक्र र मंगल पनि एकैचोटि नजिकैका घरमा छन्। त्यसैले गर्दा विश्वमा विस्फोटक गतिविधि भइरहेका छन्।’
अप्रिल महिना लाग्दासम्म स्थिति निकै शान्त हुनेछ। शनि अहिले धनु राशिमा छ। जनवरी २४ मा शनि स्वराशि मकरमा आउनेछ। अनि अन्य ग्रह पनि अलग्गिन थाल्नेछन्।
पण्डित यशकरण शर्मा भन्छन्, ‘शनि स्वराशिमा हुँदा शान्ति बहाल हुन्छ। शनि न्यायाधीश हुन् र शान्ति कायम गर्ने उनको काम हो। त्यसैले विश्वयुद्धको चिन्ता लिनुपर्दैन र विश्वयुद्धको आशंकामा कुनै दम छैन।’ -एजेन्सी