सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा डायलासिसकै लागि सास्ती

२०७६ माघ १५, ०७:०९ खबर संवाददाता

आजिवन निशुल्क डायलासिस गर्ने सरकारी घोषणाको तीन बर्ष वितिसक्दा समेत सुदूरपश्चिमका मृगौला पीडित भने डायलासिसकै लागि सास्ती भोग्न बाध्य भएका छन्। प्रदेशभरी सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिस सेवा सञ्चालन हुँदा सुदूरपश्चिमका मृगौला पीडितले डायलासिसकै लागि सास्ती भोग्नु परेको हो। सेती अस्पतालमा समेत सम्झौता अनुसार डायलासिस सेवा सञ्चालन नहुँदा मृगौलाका विरामी थप पीडामा छन्। 

डायलासिसका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पुगेका कञ्चनपुरका कर्णवहादुर चन्दले सेती प्रादेशिक अस्पतालको डायलासिस सेवा समेत प्रभावकारी हुन नसकेको बताए। ‘अस्पतालमा डायलासिस सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालिले कहिले मेसिन बिग्रीएको भन्ने गरेको छ,‘ उनले भने, ‘कहिले नयाँ विरामी बढेको भन्दै धेरै समय सम्म कुर्नु पर्ने बाध्यता रहेको छ। हप्तैपिच्छे कञ्चनपुरबाट धनगढी आईराख्नु पर्ने बाध्यता छ। महाकाली अस्पतालमा पनि डायलासिस सेवा सञ्चालन भए सहज हुने थियो।’

प्रदेशमा सेती अस्पताल बाहेक अन्य कुनै पनि स्वास्थ्य सस्थामा डायलासिस सेवा नहुँदा हप्तैपिच्छे अन्यत्र जानुपर्ने बाध्यता रहेका छ। तर सेती अस्पतालमा डायलासिस सञ्चालन गरिरहेको विरंग हेल्थ केयर प्रालि भने विरामीको चाप नै नभएको भन्दै पन्छिने गरेको छ। विरंग हेल्थ केयर प्रालिका व्यवस्थापक दीपक भट्टले अहिले डायलासिस सेवाका लागि कसैले पनि पर्खिनु पर्ने बाध्यता नरहेको बताए।

‘अहिले ६ वटा मेसिन सञ्चालनमा छन् भने एउटा मेसिन आकस्मिक विरामीका लागि राखएिको छ,’ उनले भने, ‘डायलासिसका लागि कसैले पनि पर्खाईमा बस्नु परेको छैन्। विरामी बढेपछि हामी मेसिन पनि थप गर्छाै।’

अस्तालसंगको सम्झौतामा सुरुवातमा १० वटा मेसिनबाट सेवा प्रवाह गरिएपनि विरामीको चापलाई मध्यनजर गर्दै आवश्यक मेसीनहरु थप गर्ने उल्लेख गरिएको थियो। तर विरंग हेल्थ केयरले भने विरामीको सुँची लुकाएर सेवा प्रभावित पारेको आरोप लाग्दै आएको छ। 

सेती अस्पतालमा डायलासिसका लागि दुई बर्ष पहिले मात्रै दुई सय ५० जना विरामीले नाम दर्ता गराएकोमा विरंगले सेवा सञ्चालनको जिम्मेवारी पाउँनासाथ उनीहरु कोही पनि सम्पर्कमा नआएको दावी गरिएपछि विरामीको सुँची लुकाईएको आशंका गरिएको हो। सेती अस्पतालले विरामी नपाएको दावी गरिरहँदा सुदूरपश्चिम प्रदेशका अधिकासं मृगौलाका विरामी डायलासिसका लागि अन्यत्र गईरहेका छन्।

हप्तैपिच्छे श्रीमतीको डायलासिसका लागि भारत जानुपर्ने बाध्यता रहेको बताउँदै कञ्चनपुरकै धिरेन्द्र सिनालले भने– ‘सेती अस्पतालमा स्वास्थ्यकर्मीले फिस्टुला समेत लाउन सकेनन्। त्यसैमा पोजेटिभ केसका लागि छुट्टै मेसिन हुनुपर्नेमा सेतीमा त्यो व्यवस्था पनि छैन्। बाध्य भएर हप्तैपिच्छे भारत जानुपरेको छ।’

सिनाल जस्तै सरकारले निशुल्क भनेको डायलासिस प्रदेशमा शुल्क तिरेर पनि पाउने अवस्था नभएपछि सुदूरपश्चिमका डायलासिस विरामी भारतमा हजारौ खर्च गरेर हप्तैपिच्छे डायलासिस गराईरहेका छन्। प्रदेशभरी विशेषज्ञ डाक्टर नहुँदा सेती अस्पतालमा सञ्चालन गरिएको डायलासिस सेवाप्रति विरामीले विश्वास समेत गर्न सकेका छैनन्।

यता विरगं हेल्थ केयरलाई अस्पतालले पटक–पटक सेवा सुधारका लागि आग्रह गरेको छ तर विरंगले अटेरी गर्दै आएको छ। सेती अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले पनि चैत महिनामा पनि सेवा सुधारका लागि पत्राचार गरेको बताए। विरामी बढेपछि मेसिन थप्ने आश्वासन विरंगबाट प्राप्त भएको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस