डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी
डडेल्धुरा: जिल्लाका युवा व्यावसायिक पुष्पखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि जिल्लाका आधा दर्जनभन्दा बढी युवा पुष्प व्यवसायमा संलग्न भएका हुन् । पुष्पखेतीले स्वरोजगार सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका–५ झिगनीका ३४ वर्षीय टेकराज पाठकले चार वर्षअघि पुष्प व्यवसाय सुरु गरेका हुन् । कृषि प्राविधिक शिक्षा अध्ययन गरेका उनले परम्परागत खेतीभन्दा फरक व्यवसाय गर्ने सोचका साथ सयपत्री फूलखेती थालेका थिए । सुरुका दिनमा गाउँबाट सदरमुकामसम्म डोकोमा फूल बोकेर बिक्री गर्नुपर्ने अवस्था रहे पनि अहिले घरमै फूल खरिद गर्न ग्राहक आउने गरेको पाठक बताउँछन् ।
उनले स्थानीय जातका सयपत्रीसहित ‘कर्मा ५५५’ र ‘टेनिस बल’ जातका फूल उत्पादन गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रबाट टनेल तथा गाउँपालिकाबाट थोपा सिँचाइका लागि पाइप सहयोग पाएका उनले दसैँ र तिहारको समयमा डडेल्धुरासहित कैलाली र कञ्चनपुरसम्म फूल बिक्री गर्दै आएका छन् ।
उत्पादित फूलको माला प्रतिगोटा १०० देखि २०० रुपैयाँ र फूल प्रतिकेजी ४०० देखि ५०० रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ । उनले एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए ।
यस्तै, अमरगढी नगरपालिका–१ डोलाका सुरत ऐर पनि पाँच वर्षदेखि पुष्प व्यवसायमा संलग्न छन् । कृषि विषयमा स्नातकोत्तर अध्ययन गरिरहेका उनले करिब डेढ रोपनी जमिनमा सयपत्री फूलखेती गरेका छन् । विदेश जानुभन्दा आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेको बताउने ऐरका लागि अहिले पुष्पखेती परिवारको आम्दानीको मुख्य स्रोत बनेको छ । उनी स्थानीय उत्पादनको प्रयोग बढाउनुपर्नेमा जोड दिन्छन् ।
पर्शुराम नगरपालिका–४ कटालका चक्रसिंह मालले पनि चार वर्षअघि तीन रोपनी जमिनमा सयपत्री फूलखेती सुरु गरेका हुन् । उनले ‘कर्मा ५५५’ जातको फूल उत्पादन गरी अहिले दसैँ, तिहार र छठ पर्वका समयमा डडेल्धुरादेखि धनगढीसम्म बिक्री गर्दै आएका छन् ।
यद्यपि, पुष्प व्यवसायमा लागेका किसानले बीउ, सिँचाइ र बजार व्यवस्थापनमा समस्या भोग्नुपरेको बताएका छन् । विशेषगरी बजारमा भित्रिने प्लास्टिकका कृत्रिम मालाका कारण स्थानीय फूलको बिक्री प्रभावित हुने गरेको उनीहरूको गुनासो छ । पुष्पखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय सरकारले पर्याप्त प्राथमिकता र प्रोत्साहन दिन नसकेको उनीहरूको भनाइ छ ।
कृषि ज्ञान केन्द्र डडेल्धुराले भने पुष्पखेतीलाई प्रोत्साहन गर्न बीउ वितरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । किसानलाई स्थानीय उत्पादनको प्रवर्द्धन, बजार व्यवस्थापन र आवश्यक प्राविधिक सहयोग गर्न सके पुष्प व्यवसायबाट युवालाई गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गर्न सकिने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले बताए।