३९ वर्षे यी महिलाका ३८ सन्तान, एक्लै गर्छिन् हेरचाह
युगान्डाकी ३९ वर्षे मरियम नबातान्जीले जिउँदै ३८ सन्तान जन्माइसकिन्। उनको विवाह १२ वर्षको उमेरमा भएको थियो। एक सालपछि नै उनले जुम्ल्याहा बच्चा जन्माइन्। त्यसबेलै डाक्टरलाई देखाउँदा थाहा भयो, उनको अन्डाशय असामान्य रुपले ठूलो छ, र गर्भ्निरोधक औषधि उनका लागि घातक हुन सक्छ। त्यतिखेर नबातान्जीले सोचेकै थिइनन् कि शरीरको यो सानो विकृतिले उनलाई ३८ बच्चाको बोझ थोपरिदेला।
दुई वर्षअघि पतिले पनि छोडिदिएपछि सबै सन्तानको हेरचाह नबातान्जीले एक्लै गर्दै छिन्। नबातान्जी आफ्ना सन्तानसँगै राजधानी कम्पालाबाट ५१ किलोमिटर परको गाउँमा बस्छिन्। अफ्रिकामा उनको परिवार सबैभन्दा ठूलो परिवार हो।
१५ गर्भबाट जन्मेका ३८ जीवित सन्तानमध्ये ६ सेट जुम्ल्याहा छन्। चारपटक उनले तीन–तीन बच्चा जन्माइन् भने पाँचपटक चार–चार बच्चालाई जन्म दिइन्। एकपटक भने नबातान्जीका ६ सन्तान जन्मिए। तर, यीमध्ये कोही जीवित बसेनन्। पछिल्लोपटक अढाइ वर्षपहिले गर्भवती हुँदा उनको गर्भमा ६ सन्तान थिए। एउटाको गर्भमै मृत्यु भयो, जसका कारण कोही पनि जीवित जन्मन सकेनन्।
यो गिनिज बुकको विश्व रेकर्डभन्दा भने निकै कम हो। १८औँ शताब्दीमा एक रसियाली महिलाले २७ गर्भबाट ६९ बच्चा जन्माएको रेकर्ड छ। बातान्जीका पति सधैँजसो घरबाहिर रहन्थे। उनले पत्नीको कहिल्यै राम्रो हेरचाह गरेनन, उल्टै यातना दिइरहे। नबातान्जीको घरमा पतिको नाम अभिशापको रुपमा लिइन्छ।
जीवनमा अनेकौँ हन्डर खानुपरेको नबातान्जी बताउँछिन्। वास्तवमा उनको यति धेरै सम्तान हुनुको कारण पनि त्यो अँध्यारो अतीत नै हो। जन्मेको तीन दिनमै आमाले उनलाई छोडेर गइन्। बाबाले अर्को बिहे गरे। सौतेनी आमाले सबै बच्चालाई काँचको गिलाँस तोडेर खानामा मिसाएर खान दिइन्। उनका सबै भाइबहिनी मरे, उनको भने बल्लतल्ल ज्यान जोगियो।
सात वर्षे नबातान्जी घरबाट भागेर आफन्तको शरणमा पुगिन्। उनले ६ सन्तान जन्माएर फेरि आफ्नो परिवार बनाउने संकल्प गरिन्। तर, अन्डाशयको विकृतिले उनलाई सोचेभन्दा ६ गुना बढी सन्तान दिलायो।
अहिले उनको दिनचर्या नै परिवार सम्हाल्नु हो। पैसा कमाउनेदेखि बच्चाको हेरचाह गर्ने उनी नै हुन्। पैसा जुटाउन उनी हेयर ड्रेसिङदेखि कबाडी सामान बेच्नेसम्मका काम गर्छिन्। नबातान्जीको सबैभन्दा ठूलो सन्तान २३ वर्षको भयो। जेठो छोरा किबुका आफ्नो आमालाई हरसम्भव मद्दत गर्छन्। आर्थिक संकटका कारण उनले माध्यमिक तहभन्दा माथि पढ्न पाएनन्।