निद्रामा बर्बराउनुहुन्छ ? नआत्तिनुस्!
कोहीकसैलाई निद्रामा बोल्ने बानी हुन्छ। अंग्रेजीमा यसलाई ’सोम्नीलोकी’ भनिन्छ। मध्यरातमा हामीमध्येका केही के के बर्बराउँछौँ। ती अरूलाई बुझ्न गाह्रो हुन्छ। जनसंख्याको लगभग एक प्रतिशत वयस्कलाई यस्तो बानी लाग्ने वैज्ञानिकहरुले बताउने गरेका छन्। यसरी बर्बराउने मानिसको अवचेतन मनका कुरा थाहा लाग्ने हुनाले बर्बराहट सुन्न मजा नै आउँछ भन्ने धारणा छ।
निद्रा विशेषज्ञ माइकल ब्रेउस चाहिँ निद्रामा बोलेको कुराको कुनै अर्थ छैन र यसलाई ध्यान दिनु वा विश्लेषण गर्नु बेकार हो भन्छन्। ‘निद्रामा बोलेको कुराले केही चीजको संकेत गर्ने वा अवचेतन मनको रहस्य खोल्ने भन्ने विषयमा कुनै आँकडा भेटिन्न,’ उनले भनेका छन्। निद्रामा बर्बराउने मान्छेले आफ्ना सबै रहस्य खोल्छन् भनी सोच्नु मूर्खता भएको उनको भनाइ छ।
तर यसले पर्याप्त निद्रा नपुगेको संकेत चाहिँ दिन्छ। राष्ट्रिय निद्रा प्रतिष्ठानले तनाव, अवसाद, दिनको थकान, रक्सी सेवन र ज्वरोका कारण पनि निद्रामा बोल्ने बानी लाग्ने बताएको छ। त्यसैले तपाईं निद्रामा बर्बराउनुहुन्छ भने नआत्तिनुस्, तपाईंका रहस्य सुरक्षित नै छन्। बरू यसबाट छुटकारा चाहनुहुन्छ भने रिल्याक्स गर्नुस् र राम्रो निद्रा पार्नुस्। एजेन्सी