अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
टारसियर नामको यो सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ। दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमागबराबर क्षमताको छ। जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न सक्दैन। यदि उसलाई दायाँ–बायाँको कुनै चिज हेर्नु छ भने पूरै टाउको नै घुमाउनुपर्ने हुन्छ। टारसियरको यो डरलाग्दो आँखा नै उसको विशेषता हो। किनभने उसले यिनै आँखाको माध्यमबाट घोर अँध्यारोमा पनि सजिलै देख्न सक्छ। लण्डनका नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर जेफ वाक्सल भन्छन्– टारसियरले हरेक चिजलाई एकै रंगको देख्छ।
उसको आँखाको बनावट यस्तो हुन्छ कि उसले हरेक उज्यालोको अन्तिम झुल्को संकलन गर्न सक्छ। उसको आँखा रातमा देख्न सक्ने कुनै नाइट भिजन चस्माजस्तै हुन्छ। यस्ता अनेकौँ अद्भूत जीव हुन्छन्, जो आफ्नो अस्तित्व बचाइराख्नका लागि अनेक तरिका अपनाउँछन्। प्रायजसो अँध्यारोमा बस्ने जीवहरूमा प्रकृतिले नै ‘नाइट भिजन’ शक्ति दिएको हुन्छ। यिनीहरूमध्ये कतिपय जीव गुफामा रहने हुन्छन् भने कतिपय जीव समुन्द्रको गहिराइमा बस्छन्।
शरीरबाट निकाल्छन् प्रकाश
थ्रेडफिन ड्रेगन फिस नामक माछा समुन्द्रको त्यो क्षेत्रमा पाइन्छ, जहाँ सूर्यको किरण पुगेको हुँदैन। त्यहाँ उज्यालोको कमी हुन्छ। यो माछाले शरीरको पछिल्लो भागबाट एक किसिमको किरण उत्पन्न गर्छ। यसको शरीरबाट निस्किने किरणको एम्प्लिट्युड अरू किरण बराबर हुन्छ।
उक्त किरणको सहायताले उसले जुनसुकै ठाउँमा पनि सजिलैसँग देख्न सक्छ। सजिलै सिकार गर्न सक्छ र सिकारीसँग पनि सजिलै बच्न सक्छ। किरण उत्पन्न गर्ने खास अंगका अलावा यो माछाको आँखाको पछाडि भागमा दुईवटा हेड ल्याम्प हुन्छन्। त्यसलाई आवश्यकताअनुसार अन अफ गर्न पनि सकिन्छ।
गुफामा बस्ने जीव
गुफा अर्को ठाँउ हो, जहाँ सूर्यको किरण पुगेको हुँदैन। रिमेपेड समुद्री सतहको तल रहने गुफामा बस्छ। जेफका अनुसार यस्ता जीव खासगरी युकाटन मेक्सिकोको खाडीमा पाइन्छ। उनीहरू अन्धा हुन्छन् र उनीहरूसँग लामा–लामा एन्टेना र एक पर्दा हुन्छ। जसले उनीहरूको नजिक आइरहेको सिकारीको बारेमा खबर लिन्छ। र, पानीमा भइरहेको हलचलको महसुस गर्न पनि मद्दत हुन्छ। म्यान्चेस्टर मेट्रोपोलिसन विश्वविद्यालयका रोबिन ग्रेटले आफ्नो स्टडीमा मुसाको जुँगाले कसरी काम गर्छ भन्ने जानकारी लिने कोसिस गरेका छन्।
एउटा कोठाबाट उनले हेर्दा थाहा पाए कि मुसाले एक सेकेन्डमा १० पटक आफ्नो जुँगा दायाँ–बायाँ घुमाउँछ। र, उसले अगाडि वा पछाडि कता बढ्न सुरक्षित हुन्छ पत्ता भन्ने लगाउँछ। रबिन बताउँछन, मुसाको आँखा निकै ठूला हुन्छन्। तर, रातमा ऊ आँखामा भरोसा गर्दैन।
ऊ आफ्नो जुँगाको सहयोगले वरिपरिका चिजहरूको बारेमा जानकारी लिन्छ। यदि उसले केही पत्ता लगाउन सकेन भने दगुर्न थाल्छ। तर, दगुरिरहेको समयमा पनि जुँगाको सहायताले लगातार जानकारी लिने कोसिस गरिरहन्छ।