सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपप्रधानमन्त्री पोखरेलसँग बङ्गलादेशका सेना प्रमुखको भेट

२०७६ माघ २६, ०९:२१ खबर संवाददाता

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज बङ्गलादेशका सेना प्रमुख जनरल अजिज अहमदले शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको र द्विपक्षीय सम्बन्ध जनस्तरसम्म विस्तार भएको उल्लेख गर्नुभएको मन्त्रालयले जनाएको छ।

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संयुक्त सैनिक अभ्यास तथा तालीममार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे। सो अवसरमा बङ्गलादेशका सेना प्रमुख अहमदले बङ्गलादेशको स्वतन्त्रतालाई समर्थन गर्ने नेपाल सातौँ राष्ट्र रहेको कुरा उल्लेख गर्दै दुई देशबीच विगत पाँच दशकदेखि अत्यन्त घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए। 

साथै उनले नेपाल र बङ्गलादेशका सेनाबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउँदै जान आवश्यक रहेको उल्लेख गरे। यसैबीच आजै प्रधानसेनापति पूर्णचन्द्र थापा र बङ्गलादेशका सेना प्रमुख अहमदबीच पनि शिष्टाचार भेटवार्ता भएको छ। नेपाल भ्रमणमा रहनुभएका सेनाप्रमुख अहमद र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस