धनगढी विमानस्थलमा कोरोनाको सावधानीका लागि ‘हेल्थ डेस्क’ स्थापना
नोवल कोरोना भाइरसले जोखिम ल्याउन सक्ने भन्दै पूर्वसावधानी अपनाउनका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा आज हेल्थ डेस्कको स्थापना गरेको छ। छिमेकी राष्ट्र चीन, थाइल्यान्डलगायत विदेशबाट काठमाडौँ भई धनगढी विमानस्थलमा आउने यात्रुमा कोरोना भाइरस सङ्क्रमित लक्षणहरु छ वा छैन भनी परीक्षण (स्क्रिनिङ) गर्नका लागि सावधानी अपनाउन हेल्थ डेस्कको स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।
उनले बाहिरबाट आउने यात्रुमा श्वास–प्र्रश्वासमा गाह्रो हुने, रुघाखोकी लागेको, १ सय दशमलब चारभन्दा बढी तापक्रमलगायत समस्या देखिएमा त्यस्ता व्यक्तिलाई हेल्थ डेस्कमा स्क्रिनिङ (परीक्षण) गरी सिधै अस्पताल लगेर चिकित्सकको निगरानीमा राखेर उपचार गरिने बताए। सेती प्रादेशिक अस्पतालका चिकित्सक डा जगदीश जोशीले कोरोना भाइरसबाट हुने जोखिमबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको जानकारी गराएका थिए।
कुनै व्यक्ति चीनको उहान सिटीबाट त्यहाँको कोरोना भाइरस सङ्क्रमितसँग सम्पर्क भइआएको छ र त्यस्ता व्यक्तिमा दुई हप्ताभित्र रुघाखोकी, ज्वरो, घाँटी दुख्ने, निमोनिया, श्वासप्रश्वासमा खराबीलगायत समस्या देखिएमा त्यस्ता व्यक्तिमा कोरोना भाइरस भएको शङ्का गर्न सकिने चिकित्सक जोशीले बताए। स्वास्थ्य विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक किसनबहादुर चन्दले नोवल कोरोना भाइरस रोग नेपालमा खासै समस्याका रुपमा नभए पनि पूर्वसतर्कता अपनाउन जरुरी रहेको बताए।
कैलालीका सीमा नाकाहरुमध्ये त्रिनगर भन्सार, टीकापुरको खक्रौला र कञ्चनपुरको गड्डा चौकीमा हेल्थ डेस्क सञ्चालनमा आइसकेको र अन्य जिल्लाका सीमा नाकामा पनि छिट्टै हेल्थ डेस्क सञ्चालन गरिने बताईएको छ। रासस