वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो
वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएपछि फार्मेसीलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ।
यस्तै विभागले क्षेत्रपाटीमा रहेको आइज्याक हस्पिटेक सपोर्टलाई पनि २ लाख रुपैयाँ जरिबाना गरेको छ। यस्तै क्षेत्रपाटीमा रहेको एस जे मेडिको सर्जिकललाई २० हजार रुपैयाँ र आरएफ फार्मेसीलाई १० हजार रुपैयाँ जरिबाना गरेको छ। सामान किनबेच गरेबापतको बिल नभएकोले उनीहरुलाई कारबाही गरिएको विभागले जनाएको छ। कोरोना भाइरसको रोकथामको लागि नागरिकले मास्कको प्रयोग गर्न थालेसँगै बजारमा कृत्रिम अभाव सुरु भएको र विभागले अनुगमन कडा बनाएको महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए।
उनले मेडिकल पसलहरुमा शुक्रबारदेखि अनुगमनमा थप कडाइ गरिने पनि जानकारी दिए। विभागले पछिल्लो ४ दिनमा मेडिकल सप्लायर्समा अनुगमगन गरी ६ लाख ५० हजार जरिबाना तिराएको छ। उज्यालो अनलाईबाट।