डडेल्धुरा र अछाममा आँखा शिविर सञ्चालन, दुई हजार बढिले लिए सेवा
धनगढी: डडेल्धुरा र अछाममा आँखा शिविर सञ्चालन गरिएको छ। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र विभिन्न स्थानीय तहको आयोजनामा दुई जिल्लामा सञ्चालन गरिएको शिविरबाट झण्डै दुई हजार जनाले सेवा लिएका छन्।
डडेल्धुराको परशुराम नगरपालिका र ड्याक फाउण्डेशनको सहयोग तथा अछाममा आँखा अस्पतालसंगै बयालपाटा अस्पतालकोे आयोजना र महेन्द्र कुँवर फाउण्डेशनको सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो।
शिविरमा दुई हजार ४ सय बढिको आँखा परिक्षण गरिएको छ भने तीन सय ३९ जना मोतिविन्दुका विमारीहरुको निशुल्क शल्यक्रिया गरिएको आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थाक रमेशचन्द्र भट्टले बताए।
सुदूरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा प्रदेशका ९ वटै जिल्लामा शिविर सञ्चालन हुँदै आएको छ। ९ जिल्लामा संचालित १३ वटा आँखा उपचार केन्द्रहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोबाट शिविर सञ्चालन भईरहेको आँखा अस्पतालले जनाएको छ।