सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट जोगिन डडेल्धुराको अमरगढीद्वारा विद्यार्थीलाई मास्क वितरण

२०७६ फाल्गुन २९, ०३:२० खबर संवाददाता

धनगढी: कोभिड –१९ कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन डडेल्धुराको अमरगढी नगरपालिकाले विद्यार्थीहरुलाई मास्क वितरण गरेको छ। नगरमा रहेका कक्षा ८ को परिक्षामा सहभागी ५ सय ३६ विद्यार्थीलाई मास्क वितरण गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले जानकारी दिए। फागुन ३० गतेबाट सञ्चालन हुने उक्त परिक्षामा सहभागीहरुको लागि परिक्षा केन्द्रमै गएर केन्द्रलाई मास्क हस्तान्तरण गरेको उनले बताए। 

‘नगरपालिकाभरी रहेका २२ वटा विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुको ६ वटा केन्द्रमा परिक्षा हुँदै छ’ पन्तले भने, ‘परिक्षामा सामेल हुने सबै विद्यार्थी र परिक्षा केन्द्रमा रहने सबै जनशक्तिलाई मास्क वितरण गरेर अनिवार्य मास्क लगाउन भनेका छौ।’ 
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले  चैत ५ गते भित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सञ्चालन गरिसक्न निर्देशन दिएपछि नगरभरीका विद्यालयहरुमा परिक्षा सुरु भइसकेको छ।  

नगरपालिकाभरी संस्थागत र सामुदायिक गरी जम्मा ४१ वटा विद्यालय रहेका छन्। ती विद्यालयमा ६ हजार ८१ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा ८ बाहेक कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुलाई मास्क दिन प्रति विद्यार्थी २० का दरले विद्यालयलाई रकम दिने निर्णय भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताए। ‘सबैलाई आफै गएर दिन सम्भव नभएकाले अहिले विद्यालय आफैले मास्क वितरण गरेर परिक्षा सञ्चालन गर्दैछन’ उनले भने, ‘पछि विद्यालयलाई प्रति विद्यार्थी २० रुपैंयाका दरले भुक्तनी गर्ने छौ।’

देशैभर कोरोना भाइरसको संक्रमण बढीरहेको अवस्थामा विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क वितरण गरेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। उनले यो बाहेक सचेतनाका अन्य कार्यक्रम समेत गरिरहेको बताए। 

कमेन्ट लोड गर्नुस