सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँमै गर्भ जाँच गर्ने सेवा

२०७६ चैत्र १, ०८:४३

खोटाङ : जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका गर्भवती महिलाले गाउँमै गर्भ जाँच गर्न पाउने भएका छन्। गर्भमा रहेका बच्चाको अवस्था, श्वास–प्रश्वास, मुटुको गति, साथीको अवस्था, पानीको मात्रालगायत गर्भवती र बच्चाको शारीरिक अवस्थाका विषयमा पूर्वजानकारी लिन नगरपालिकाले एक थान पोर्टेबल भिडियो एक्स–रे मेशिनको व्यवस्था गरेको हो।

तालिका बनाएर प्रत्येक महिना नगरपालिकाका ११ वटै वडामा भिडियो एक्स–रे मेशिनसहित तालीम प्राप्त एकजना अनमी पुग्ने र वडामै गर्भवती महिलाको गर्भ जाँच गर्ने “गर्भ जाँच गर्नकै लागि जिल्ला अस्पताल दिक्तेल अथवा ओखलढुङ्गा जानुपर्ने बाध्यता थियो”, उनले भने, “मेशिन भएपछि बर्थिङ सेन्टरमा सुत्केरी गराउन सकिन्छ कि सकिन्न भन्ने आधारभूत जानकारी लिन सकिने भएको छ।

यसले अकालमा ज्यान गुमाउनुपर्ने महिलाको बाध्यता हटेको छ।” गर्भको बच्चाको अवस्थादेखि सम्भावित खतरा भए÷नभएको विषय आफ्नै गाउँमा थाहा पाउने व्यवस्था भएपछि नगरपालिकाका महिला उत्साहित भएका छन्। स्वास्थ्य चौकी दुर्छिमका एकजना अनमीलाई भिडियो एक्स–रेसम्बन्धी २१ दिनको तालीम दिएर भिडियो एक्स–रे मेशिन खरिद गरिएको जनाइएको छ।

नगरपालिकामा वार्षिक अनुमानित ५ सय ५४ जना गर्भवती महिलाको गाउँमै पुगेर गर्भ जाँच गर्ने गरी भिडियो एक्स–रे मेशिन उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले लागू गरेको गर्भवती महिलाका लागि भिडियो एक्स–रे कार्यक्रमअन्तर्गत गर्भवतीको गाउँमै पुगेर जाँच गर्ने व्यवस्था गरिएको हो। नगरपालिकाले उपलब्ध गराएको भिडियो एक्स–रे मेशिन झोलामा बोकेर हिँड्न मिल्ने किसिमको रहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामकुमार भगतले बताए।

“ग्रामीण क्षेत्रका गर्भवती महिला र गर्भमा रहेका बच्चाको समग्र अवस्थाका विषयमा जानकारी लिन सजिलो भएको छ”, उनले भने, “मेशिनको सहायताले सामान्यरुपमा सुत्केरी हुनेरनहुने विषयसमेत पहिल्यै थाहा पाउन सकिने भएकाले खतरामा परेका गर्भवतीलाई तत्काल अन्यत्र पठाउन सहज भएको छ।” धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रका गर्भवती महिलाका लागि तीन वर्षअघि वनहर्टले भिडियो एक्स–रे मेशिन उपलब्ध गराएको थियो।

वनहर्टले प्रदान गरेको मेशिन डेढ वर्षअघि बिग्रेको र तालीम प्राप्त स्वास्थ्यकर्मी पनि सरुवा भएर गएपछि नगरपालिकाले पुनः भिडियो एक्स–रे मेशिन उपलब्ध गराएको हो। हलेसी तुवाचुङ नगरपालिकाका सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गरिएको छ। बर्थिङ सेन्टर सञ्चालनमा रहे पनि अहिलेसम्म भिडियो एक्स–रे मेशिन नहुँदा समस्या हुने गरेको थियो।–रासस

कमेन्ट लोड गर्नुस