दार्चुलामा दादुरा–रुबेला खोप अभियान
दार्चुलामा आजबाट दादुरा–रुबेला खोप अभियान शुरु भएको छ। दुई चरणमा हुन लागेको अभियानअन्तर्गत पहिलो चरणमा ब्यास, दुहुँ, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामामा अभियान शुरु भएको छ।
जिल्लाभरिका १२ हजार ७१८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइनेछ। नौ महिनामाथिका र पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाइनेछ। दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप निरीक्षक वीरेन्द्र भट्टले बताए।
अभियानका लागि १३० स्वाथ्यकर्मी तथा २० स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए। पहिलो चरणको अभियान चैत २ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन हुनेछ। दोस्रो चरणअन्तर्गत चैत १० देखि १७ गतेसम्म जिल्लाको मालिकार्जुन, लेकम, अपि हिमाल, मार्मा गाउँपालिका र महाकाली नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ। जिल्लाका ३६० खोप केन्द्रबाट बालबालिकालाई खोप दिइने छ। रासस