सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भारतबाट फर्किनेलाई व्यवस्थित गर्न सके संक्रमण नियन्त्रण गर्न सकिने

२०७७ जेठ २०, १२:५४ जनक विष्ट

धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चैत १४ गते दुवईबाट फर्किएका युवकमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना जितेर बैशाखमा अस्पतालबाट डिस्चार्ज भएका ती युवकबाट परिवारका एकजना सदस्य बाहेक अन्यलाई कोरोना संक्रमण फैलिन पाएन।

युवककी भाउजुमा कोरोना संक्रमण देखिएपनि उनी समेत निको भएर घर फर्किसकेकी छन्। त्यसयता सुदूरपश्चिममा भेटिएका अधिकांश संक्रमित भारत तथा अन्य जिल्लाबाट फर्किएकाहरु मात्रै छन्। डडेल्धुरामा ट्राभल हिस्ट्री नै नभएका सरकारी कर्मचारीमा कोरोना देखिएपनि उनी सोमबार अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

ती कर्मचारीको सम्पर्कमा आएकाहरुको रिर्पोट पनि नेगेटिभ आएको छ। बाजुरामा संक्रमणबाट मृत्यु भएकी बालिका पनि आमाबुबासँगै भारतबाट फर्किएकी थिईन्। उनकी संक्रमित आमाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ। सेती प्रादेशिक अस्पतालका कोभिड–१९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमरले कोरोना सरुवा रोग भएपनि सुदूरपश्चिममा समुदाय स्तरमा फैलिनसकेको बताए।

संक्रमितहरु पनि भारत तथा तेस्रो मुलुकबाट फर्किएकाहरु नै भएकाले उनीहरु मार्फत थप नफैलिनु सुखद पक्ष भएको बताए। अहिले सम्म भेटिएका संक्रमितहरुको पनि  आईसोलेसनमा राखेर उपचार भईरहेकाले तत्कालै समुदाय स्तरमा भयावह स्थिती नदेखिएको उनको भनाई छ। तर प्रदेशमा अब भारतबाट फर्किनेहरुबाट मात्र कोरोना संक्रमणको जोखिम हुने देखिएको छ।

समुदाय स्तरमा आशिंक मात्र देखिएको संक्रमणलाई फैलिन नदिन उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको छ। भारतबाट दैनिक हजारौँको संख्यामा फर्किरहेकाहरुको क्वारेन्टाईनमा व्यवस्थापन गरी परीक्षणको व्यवस्था मिलाउनुपर्ने सुझाव दिईएको छ।

क्वारेन्टाईन व्यवस्थापन नभएको खण्डमा होम क्वारेन्टाईनमा राखेर भएपनि सर्तकता अपनाउन सकेमा जोखिम न्युनीकरणमा सहजता हुनेछ। क्वारेन्टाईन बस्दा पनि सामाजिक दुरी कायम, साबुनपानीले हात धुने, सेनीटाईजरको प्रयोग गर्ने, सौचालय, खानेपानीको उचित प्रयोग र उपभोग गर्न समेत चिकित्सकको सुझाव छ। फिजिसियन डाक्टर कमर भारतबाट फर्किएकाहरुलाई क्वारेन्टाईनमा राख्दा व्यवस्थित नभए जोखिम बढ्ने बताउँछन्।

 सरकारले बनाएको क्वारेन्टाईन सम्बन्धी मापदण्ड अनुसार सके सम्म एकजनालाई एउटा कोठामा राख्नुपर्ने बताए। दुईतीन जनालाई एउटै कोठामा राख्नुपर्ने भएपनि सामाजिक दुरी कायम गर्नुपर्ने, एकआपसमा घुलमिल नभएर बस्ने, सके सम्म छुट्टाछुट्टै सौचालय प्रयोग गर्ने, सेनीटाईजरको प्रयोग गर्ने लगायतका सावधानीका उपाय अपनाएमा संक्रमणबाट बच्न सकिने उनको सुझाव छ।

तर क्वारेन्टाईनमा लापरवाही भए एकजनाबाट अरुमा समेत संक्रमण सर्ने जोखिम अत्यधिक हुने देखिएको उनको भनाई छ।  तर धेरै स्थानमा क्वारेन्टाईन व्यवस्थित नभएको जनगुनासो बढ्दै गएका छन्। क्वारेन्टाईन व्यवस्थापनको जिम्मेवारी पाएका स्थानीय तहहरुले व्यवस्थित बनाउन नसक्दा जोखिम बढ्ने चिन्ता गरिएको छ।

सामाजिक दुरी कायमको अभाव र सबैलाई एउटै ठाउँमा राख्दा कोरोना मात्र नभई अन्य रोगको प्रकोप फैलिने खतरा पनि उतिकै छ। प्रदेको सामाजिक विकास मन्त्रालयले क्वारेन्टाईनमा बसिरहेका र भारतबाट फर्किनहरुलाई जोखिम नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले क्वारेन्टाईन अवधी पुगेकाहरुलाई परीक्षण गरेर घर फर्काउने तयारी भईरहेको बताए। उनले कोरोना महामारी फैलिएको क्षेत्र र विदेशबाट फर्किएका हरेक व्यक्ति स्वयंमले सचेत  र सजग भईदिएमा कोरोनाको संक्रमण थप नफैलिने भन्दै सहयोगका लागि अनुरोध गरे।

संक्रमित क्षेत्र र विदेशबाट फर्केर अहिले क्वारेन्टाईनमा बसेका सबैले आ–आफ्नो किसिमले सावधानी र सजकता अपनाएमा थप संक्रमण फैलिन नपाउने विश्वास व्यक्त गरे। 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस