सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमित मन्त्रीको उडानले सुदूरपश्चिममा ल्याएको तरंग र उठेका प्रश्न

२०७७ कार्तिक २२, ०७:०१ लखन चौधरी

धनगढी: कोरोना संग जुधिरहेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह काठमाडौंमा उपचाररत छन् । 

कार्तिक १५ गते संक्रमण पुष्टि भएका उनी कार्तिक २१ गते दिउँसो १ बजे सिम्रिक एयरको हेलीकोप्टरमार्फत काठमाडौं पुगेका हुन् । मन्त्री शाहको सिघ्र स्वास्थ्य लाभको कामना छ । 

विचारणीय कुरा, मन्त्री शाह बहाल रहेको प्रदेश सरकारले हालसम्म कोरोना रोकथाम तथा उपचारमा गरेको प्रयास र मन्त्री शाहले उपचारमा अप्नाएको शैलीले पछिल्लो समय टिकाटिप्पणी सुरु भएको छ ।

मन्त्री शाहलाई उपचारका लागि काठमाडौं लगिएको भनी दिनेश खबरमा प्रकाशित समाचार पढेर डोटीका महादेव महराले प्रश्न गरेका छन् ‘हामी गरिबले नि यसरी नै उपचार गर्न पाउँछ सरकार ?’

उनको प्रश्नभित्र प्रदेशवासीहरु प्रभावकारी उपचारबाट वञ्चित छन् । तर जनताको अभिभावकत्व ग्रहण गरेका तथा जनताकै भोटबाटै सरकारको उच्च तहमा पुगेकाहरु हेलिकोप्टरै चार्टड गरेर महंगो सेवा लिनु पद र सत्ताको दुरुपयोग गरेको भन्ने आशय झल्काउँछ ।

यतिमात्रै होइन, धनगढीका यज्ञराज जोशी आफ्नो फेसबुक वालमा टिप्पणी गर्दै लेख्छन्, ‘अब त चेत खुल्यो कि, मन्त्रीजस्तो भीआईपीले जटिल अवस्थामा पुग्दा धनगढीमा उपचार पाएनन् । काठमाडौं लग्नुप¥यो । झन सामान्य नागरिकको अवस्था के होला ? आईसीयू, भेन्टिलेटर र जनशक्तिमा जोड दिन ढिलो भएन र ? कि अझै नागरिक मरे मरुन् हामी हेलिकोप्टरमा काठमाडौं गैहाल्छौं नि भनि बस्ने हो ?’ 

धनगढीकै धर्मराज जोशी कडा टिप्पणी गर्दै लेखेका छन् ‘धनगढीमा उपचारको उपलब्धता छैन भन्ने कुराको प्रमाण प्रदेश मन्त्रीहरूलाई हेलिकोप्टर चार्टड गरेर काठमाडौ लगिनुले स्पष्ट भएन त ? स्वयं राजधानी बनेपछि पनि कसले रोक्यो त विकास ? कतै विकासको लागि भनिएको पैसा यिनकै सेवासुविधामा सक्किनु मुख्य कारण त होइन...?’

महादेव महरा, यज्ञराज जोशी र धर्मराज जोशीको टिप्पणी प्रतिनिधी टिप्पणी मात्रै हुन् । अहिले नागरिक सरकारको मुख ताकेर बसेका छन् । किनकी, दुःख, विपत्ति र अन्याय परेको बेला नै नागरिकलाई भरपर्दो सहारा चाहिएको हो । अभिभावक सरहको सरकार चाहिएको हो । न कि, सुखशयलमा ।

यता उनी बहाल रहेको प्रदेश सरकारको राजधानीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल संक्रमितले भरिभराउ छ । भेन्टिलेटर र आईसीयूको चरम अभाव छ । उपचार नपाएर आमसर्वसाधारण घरमै ज्यान गुमाउन बाध्यता छन् ।
लामो लकडाउनले रोजीरोटी गुमाएका नागरिकलाई यो विषम परिस्थितिमा निःशुल्क उपचारको व्यवस्था, रोजीरोटीको व्यवस्था गर्नुपर्नेमा २ तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकार भने उपचारमा शुल्क लगाउँछ ।

यहाँनिर प्रश्न उठ्न सक्ला, ‘के मन्त्री शाहको आर्थिक हैसियत तथा स्वतन्त्रता अनुसार हेलिकोप्टर चढ्नै नपाउने हो त ? चाहे अनुसारको उपचारै गर्न नपाउने हो त ?’

तर नेपालको संविधानको मौलिक हक अन्तरगतको स्वास्थ्य सम्बन्धी हकले सबै नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हक ग्यारेन्टी गरेको छ । यद्यपी एक साधारण नागरिकले उपचारै नपाएर मर्नु पर्ने र अर्को सत्तामा बसेको नागरिकले पद र सत्ताको दोहन गर्दै महंगो उपचार पाउने कतिको सान्दर्भिक छ ? उपचारै नपाएको अवस्थामा सरकारी खर्चमै हेलिकोप्टर चढेर उपचार सेवा लिन थालेपछि आमसर्वसाधारणको आक्रोशलाई कदापी अन्यथा मान्न सकिदैन ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम तथा बजेट कार्यक्रमलाई पनि कोरोना रोकथाममय बनाएको छ । तर दुःखको कुरा सरकारको भनाइ र गराइको लय नमिल्दा नागरिकहरु निकै सास्ती पाउँन बाध्य छन् । यदि मन्त्री स्तरको नागरिकले स्थानीय स्तरमै उपचार पाउन सक्ने जनशक्ति र साधनस्रोतको उपलब्धता भएको भए मन्त्री ज्यूको हेलिकोप्टरको उडानको खासै औचित्य हुने थिएन ।
 

लखन चौधरी दिनेश खबरका सम्पादक हुन्। उनले राजनीति, अपराध, आर्थिक, कला संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन्।

कमेन्ट लोड गर्नुस