बौलाहा
मैले आजसम्म थाहा पाएको छैन
सहिदको रातो रगत
र
झण्डाको रातो रङ्ग
कसरी फरक-फरक हुन् ?
कहिलेकाहीँ यस्तो लाग्छ
कतै यी झण्डाहरु
रगतमा चोपिएर राता भएका त होइनन् ?
सेतो र रातो
कसरी उस्तै-उस्तै हुन् ?
कहिलेकाहीँ यस्तो लाग्छ
कतै विर्य र रगत
एकै योनिबाट बग्ने हुनाले त होइन ?
हुन त म यसै बौलाहा
उसै बौलाहा
कहलिएको बौलाहा
मलाई बेला-बेलामा के के लागिरहन्छ
म सुर्यौदयलाई सुरुवात होइन
बिछोड मान्छु
सुर्यास्तलाई अन्त्य होइन
मिलन मान्छु
म त के मान्छु
मान्छु...
म बाहुपाशलाई सुरक्षित होइन
निसास्सिरहेको देख्छु
आखी भौंलाई स्वतन्त्र होइन
नाङ्गिरहेको देख्छु
म त के देख्छु
देख्छु...
निभेका चुलाहरु
कुर्दै छन्
आगोका झिल्काहरु
सुकेका गडाहरु
कुर्दै छन्
पानीका थोपाहरु
म पनि
कुर्दै छु
पुर्णविरामहरु
प्रतीक्षाको फल मीठो होला
या
लामो प्रतीक्षाले फल कुहिएला
आफ्नै नाभीको कस्तुरी
यत्रतत्र खोजिरहने
मनुवाको संसारमा
के चाहिँ होला?
सबै चुपचाप बसेका बेला
उठेर 'चु' गर्न पनि
निकै हिम्मत चाहिने रहेछ
लड्दालडदै अन्यायविरुद्ध
म बाैलाएँ
म भिन्न किसिमको
अपांग भएको छु
अचेल
दिनहुँ एउटै चिन्ताले
मलाई सताइरहन्छ
मेरो मृत्यु पश्चात्
यी लाउड सोचहरुले
मलाई सहिद घोषणा
गर्लान् ?
यदि गर्छन् भने
म सहिद कसरी हुन सक्छु?
म त बौलाहा हु
लाग्दैछ
सायद!
लावारिस हुनेछु...
-दीक्षा भट्ट