सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदुख्ने मन खोज्दै बाजुराकी रेखा

२०७५ भदौ २७, ०६:४९

घाममा सुकाएका कपडा हल्लाएझैं सिरसिरे बतासले हल्लाइरहेको थियो जीउमा लगाएको साडीको फालसँगै शिरको कपाल । चारैतिर खचाखच देखिन्थे मान्छेहरु । जब स्टेजमा देखापरिन गायिका रेखा जाेशी। चकित परे उत्सुकतापूर्वक बाटो हेरिरहेका आँखाहरु। उनको प्रस्तुति र सुन्दरताले झनै मोहनी लगायो दर्शकलाई। गीत त सुनेकै थिए कैयौँले त्योभन्दा अगाडी नै। त्यसैमा जब गाइन् उनले ठाडीभाकामा डेउडाका दुई पंक्ति, सुनसान छायो चारैतिर। निकै नै भावुक बन्यो माहोल । प्रश्न तेर्साएको थियो उनको गीतले श्रोता दर्शकहरुलाई। 

डेउडा खेल खेलुँला भनी बझाङ आएकी
बजुराकी छोर्याट्टी हुँ मकन रायाकी
भोकाइ तेसाइ आया हौ कि खाना खाइ आया कि  
नजरै नलागोस् भनी कालो लाई आया कि

अधिकांशले सुनेका थिए उनका गीत अनि सुनेका थिए उनको नाम । तर धेरैलाई थाहा थिएन उनी बाजुराकी हुन् भनेर । कार्यक्रममा उनले गीतका माध्यमबाटै दिइन आफ्नो परिचय । प्रश्नका रुपमा रचिएको गीतमा सोधेकी हुन दर्शकलाई म बाजुराकी छोर्याट्टी  हुँ तमीले मलाई चिन्या कि नाइ? भीमदत्त नगरपालिका ७ कञ्चनपुरमा बुवा गौरीलाल जोशी र आमा पार्वती जोशीको कोखबाट २०५२ सालमा जन्मेकी रेखाका पुर्खाको थलो त्यही बाजुरा हो। त्यो त्यही बाजुरा हो जहाँ जन्मेकी हुन् ठाडी भाकाकी कोइली डीक्रादेवी। बझाङ्ग र बाजुरा जोडिएका नजिकैका जिल्ला हुन्। रेखाका  बुवाको बिहेमा बजेका बाजाको रौनक सुनेका डाँडाहरु उतै छन्। आमाले बिहे गरेर भित्रिदा टेकेको आगँन उतै छ। धोको थियो रेखालाई त्यो ठाउँमा पुग्ने। तर मान्छेले नियतिलाई बशमा पार्न सक्दैन आखिर जानु पर्छ नियतिकै बशमा । त्यसैले त महेन्द्रनगरदेखि काठमाडौं पुगुन्जेल अझ भनौ २२ औं वषन्त पार गसिक्दासम्म पाएकी छैनन् पितापुर्खा जन्मेको भूमिमा पाइला टेक्न। 

 बाजुरामा अनाथालय खोल्ने अभियानकै दौरानमा भेट्न आएका  हुन् के.पी. भाई  रेखा लगायत कैयौं गायक गायिकालाई। उनी पछिल्लो समयका चर्चित गायक टंक तिमिल्सिना र के.पी.भाईसँगै पुगेकी हुन्  केही महिना अघि मात्रै भारतका कैयौं सहरमा गीत गाउनलाई। बाजुरामा निर्माणाधिन अनाथालयको लागि रकम संकलन अभियानमा हातेमालो गर्नलाई। तर टेक्न पाएकी छैनन् बाजुरास्थित पुर्खाको आँगनमा। डोटी अद्योग वाणिज्यसँगले बोलायो डोटी महोत्सवमा गीत गाउन र  देखिन् पहिलो पटक सुदूरपश्चिमका केही पहाडी जिल्ला। पछिल्ला दिनमा त्यसैगरी बोलाइरहे स्वदेश र विदेशका कैयौं संघ संस्थाहरुले। 

 कन्चनपुर हल्दुखालमा जन्मेकी उनले त्यतै कखरा सिक्ने देखि स्नातक तहसम्मको अध्ययन पनि त्यतै गरेकी हुन्। स्गनातकोत्तर तह अध्ययनका लागि भनेर पुगिन काठमाडौं। २ दाइ ८ बैनी भएको परिवार, सेवानिवृत सैनिक हुन् बुवा। दाइले र आमाले निकै नै सपोर्ट गरेका छन् उनको गायन यात्रामा। उसो त बुवाले पनि कहिल्यै बिरोध गरेनन्। तर पनि उनलाई यस क्षेत्रमा बढी प्रोत्साहित तुल्याइरहे दाइले नै। 
करिव १० महिनाअघि पहिलो पटक उनलाई भेट्न खोज्दा  डिभी भर्न ब्यस्त थिइन् काठमाडौं नयाँ बानेश्वरमा। त्यतिबेलासम्म करिव १ सयको हाराहारीमा गीत गाइसकेकी थिइन् उनले। अहिले ३ सयको हाराहारीमा गीत रेकर्ड गरिसकेकी रेखालाई भ्याइनभ्याइ छ। उनी भन्छिन् –’गाउन त दोहरी पनि गाएँ त्यो रहर मेटाउन गाएकी हुँ। म डेउडा गायिकाकै रुपमा चिनिन चाहन्छु।‘

वैशाख १३ गते उनको जन्मदिन हो। २०७१ साल वैशाख १३ गतेकै दिन पाएकी हुन् अवसर जिन्दगीमा पहिलो पटक गीत रेकर्ड गर्ने। त्यो बेला उनी रेडियो कञ्चनपुरमा कार्यरत थिइन्। त्यही थिए एक जना राम्रो स्वर भएका गायक। जसको झुकाव आधुनिक गीतप्रति बढी थियो। ती गायकसँग भेट्नु अघि रेखासँग भेट भएछ एल्बम निकाल्न खोज्नेको। गफगाफमै रेखाको स्वर सुन्ने इच्छा प्रकट गरे छन्। रेखाले पनि सुनाइछन् आफ्नो कर्णप्रिय स्वर। त्यतिखेरै छनौट भइन उनी कसैको गीतमा स्वर दिन। त्यो त्यही गीत थियो गोपाल दयालको लय तथा शब्दमा करन रानासँग रेखाले गायको। 

साई र म परेवा जोडी घुटुक्क बाडुली लाया सँगसँगै रहनु होउ प्यारा रातीमा सपनी आया
मुना र मदनको जसो घुटुक्क बाडुली लाया बिछोड जन होउ प्यारा रातीमा सपनी आया

 उनको सपनीमा कोही आए कि आएनन्। तर गीत तुरुन्तै आइपुग्यो बजारमा । यो गीत बजारमा सुनिन के थाल्यो रेखाको स्चवरको चर्चा सुरु भयो। कैयौले रैबार पठाउन थाले गीत गाउनलाई। कञ्चनपुरबाटै बिबि एस उत्तीर्ण गरेकी उनी हाल काठमाडौंको शंकरदेव कलेजमा एम बि एस पहिलो वर्षमा अध्ययनरत छन्। कञ्चनपुरमा जन्मिन्। त्यही तराइमा बाल्यकाल बित्यो किशोरावस्थाको सुरुवात भयो। घरमा आमा बुवाले बोल्ने गरेका हुँदा बोल्न सिकिन् बाजुराको भाषा। अनी भन्छिन्–‘बुझ्न त सुदूरपश्चिमका पहाडी जिल्लामा बोलिने भाषा सजिलैसँग बुझ्छु तर बाजुराको बाहेक अरु ठाउँको भाषा राम्ररी बोल्न आउँदैन्।’ 

सबै महिलाले यो क्षेत्रमा पारिवारिक सपोर्ट पाउन सकेकी छैनन्। सुदूरपश्चिममा कर्णप्रिय स्वर भएकी कैयौ महिलाहरुले पाएकी छैनन् साङ्गितिक गोरेटोमा पाइला टेक्न।   सुदूरपश्चिमको डाँडाकाडाँतिर मन बहलाउने स्वरहरु अझै सुनिन्छन्। तिनै गहकिला ओजपूर्ण शब्द र स्वरले गोरेटोमा टक्क अडिन बाध्य तुल्याउँछन् बटुवालाई। कैयौं रेखाहरुले लगाइरहन्छिन् बाडुली परदेशी मनहरुलाई। कैयौले मोबाइलमा कैद गरेकै छन् रेखाको स्वर। सुदूरपश्चिमका पहाडी जिल्लामा चल्ने गाडीमा घन्केकै हुन्छ उनको स्वर। चार वर्षकै दौडानमा नसोचेको चर्चा कमाइन उनले। उनले स्वर दिएका ठाडी भाकाहरु सुनिन्छन्  धेरै जसो ठाउँमा।
काँ उडी कैतिर उडी सिमलीका भुवा
जति रुवाई छुट्ने बेला अब जन रुवा 
उनले अहिलेसम्म अरुकै शब्द र लय भएका गीतहरु गाएकि छन्। न त आफ्नो लागि शब्द बनाइन न संगीतको औपचारिक कक्षा लिइन्। भगवानको वरदान नै भन्नु पर्छ उनीसँग छ लोभलाग्दो स्वर। स्टुडियोमा पुगेर सुन्छिन् गीतको लय आँखा अगाडि फैलाउँछिन् शब्द लेखेको कागजको पाना र गाउन थाल्छिन् भावमा डुबेर। सुदूरपश्चिमका डाँडाकाँडामा घन्किने तिनै डेउडा गीतका मर्मले भावुक तुल्याउँछन् उनलाई।  शेर बिष्टसँग गाएको यो गीत सुनेपछि रोकिन्छन् हिँड्दा हिँड्दैका कैयौ पाइलाहरु।

पूर्णिमाकी रात होइजाउ लग्याकी जून होइजाउ
साथ दिने करम होइजाउ नदुख्ने मन होइजाउ 

शुक्ल पक्षको समय होस् पूर्ण चन्द्रको आवागमन होस्। एउटा फकिरलेझै मस्ती गर्न पाइयोस्।त्यो मस्ती अवोध बालककोझैं होस्। निश्चल निस्कपट र निस्वार्थ होस्। त्यो प्रकृति त्यो सुन्दरता त्यो आफ्नोपन सबैलाई हृदयमा बोकेर हिँड्न पाइयोस्। कसैसँग हात थाप्नु नपरोस्। स्वाभिमानी अनि कर्मठ बनेर प्रेमिल जिन्दगी बाँच्ने क्रममा नदुखाेस् कहीं कतै मनकाे पाटाे। त्यही नदुख्ने मन बाेकेर हिँड्न पाए कति अानन्दकाे हुन्थ्यो जिन्दगी। गीती भाव यस्तैयस्तै देखिन्छ। त्यो नदुख्ने मन भेटाउने उनै मुक्तात्माहरु हुन् जो परमात्मासँग लीन हुन सके। यहाँ रेखा र रेखाजस्ता कैयौं गायक गायिकाले खोजेको त्यो मन भन्नु नै संवेदनाका छालहरु, भावनाका तरंगहरु, विगतका सम्झनाहरुले तयार पारेको साेचाइकाे सुन्दर क्यानभास मात्र न हाे। गीतका माध्यमबाट कल्पनामै सुन्दर क्यानभास उतार्दैछन् गायिका रेखा पनि। 

 कैयौले प्रश्न गर्छन् रे उनलाई– ’किन डेउडातिर लागेको? डेउडाले कतिको ठाउँ ओगट्छ र ? तर पनि छुदैनन् उनलाई  त्यस्ता कुराहरुले। उनी सहज ढंगले जवाफ दिन्छिन्–’जुन ठाउँबाट आएँ त्यो ठाउँ बिर्सिन मिल्दैन। हाम्रो संस्कृति रहेन भने के नै बाँकी रहन्छ र ? त्यही ठाउँबाट अगाडी बढियो। साङ्गीतिक गोरेटोमा पाइला टेकियो। अब आफुलाई डेउडा गायिकाकै रुपमा चिनाउन चाहन्छु।‘ अविवाहित, मीठो स्वरकी धनी रेखा गीतका माध्यमबाट कुरीरहेकी छन् कसैको बाटो। त्यो बाटो  असल कार्य गरेर समाजमा चिनिने बाटो हो। अरु नरनारीलेझैं जीन्दगी जीउन अपनाइने सिढी टेक्ने सोच हो। समग्रमा त्यो बाटो भिवष्य  निर्माणको बाटो हो।  
गीतले कल्पनाको दुनियामा सुन्दर उडान भर्न लगाएको छ।  । अनि हेरिरहेकीछन्  नदुख्ने मन र  जिन्दगी गुजार्नु पर्ने मान्छेको बाटो।  फुलेको बाबरीफूल र सेतीको झोलुङ्गे पुल गीतभित्र थेगोकाे रूपमा अाएका त छदै छन् त्यसका साथै एउटा सुन्दर बिम्बको रुपमा समेत देखापरेका छन्  । र त गीत मार्फत भनरिहेकी छन् उनी ः

भेटिजा बासुकीधारा फूलेका बाबरी फूल 
छल्का दि‘जा सेती कठै साइको बाटो हेरिरौंला सेतीका झोलुङ्गे पुल
निर्गुनी कलीको माया फूलेका बाबरी फूल 
क्यान लाग्छ यति कठै साइको बाटो हेरिरौंला सेतीका झोलुङ्गे पुल
कतिछन् देउताका थान फूलेका बाबरी फूल 
कतिछन् पुजारी कठै साइको बाटो हेरिरौंला सेतीका झोलुङ्गे पुल
साइ बिना नसक्ने भए फूलेका बाबरी फूल 
जिन्दगी गुजारी कठै साइको बाटो हेरिरौंला सेतीका झोलुङ्गे पुल

कमेन्ट लोड गर्नुस