सुदूर नेपाललाई विश्वसँग जोड्दै

३७ बर्षपछि सरकारी जागीरबाट विश्राम लिईन पत्थरले, एक्लो जीवन तर उपलव्धी दर्जनौ

२०७४ चैत्र १६, ०३:४३

आजभन्दा ३७ वर्ष १ महिना ४ दिनअघि, १६ वर्षको कलिलो उमेरमै राष्ट्रिय वाणिज्य बैंकमा जागीर सुरु गर्दा धनगढीकी श्रेष्ठ प्रिया पत्थरको परिचय घर परिवार र आफन्तमै सिमित थियो । सरकरी जागीरे जीवनको सुरुवात गर्दा दैलोभरी कलश राखी आमाले दही र अण्डाको सगुन खुवाएको सम्झना पत्थरको मन मतिष्कमा ३७ बर्ष सम्म पनि जिवितै छ । बुवाको औला समातेर फुर्कदै कार्यालय सम्म पुगेको सम्झना पनि भुल्ने कुरै भएन् । आज पत्थरसंग न त बुवाको स्नेही हात छ, न त सधैं आँखा ओछ्याएर कतिखेर ’स्यानो’अर्थात पत्थर फर्केर आउली भनी चिन्तित भएर बाटो हेर्ने आमाको साथ नै ।

जीन्दगीको समर भूमिमा एक्लै लड्नको लागि १९ वर्ष अघि नै बुवाले छोडेर भगवानको प्यारो भईसकेका थिए भने आमाले छोडेर गएको पनि ११ महिना वितिसक्यो । अब पत्थरसंग दुवै जनाको सम्झाना र आशिर्वाद मात्रै छ, उमेरले निम्त्याएका केही रोगहरु छन् अनि रोग थपिदै जाने चिन्ता पनि छ । तर पत्थरको जिन्दगीको एक अध्याय भने शुक्रवारदेखि समापन भएको छ । श्रेष्ठलाई भोलीदेखि १० देखि ५ बजेको बन्दी हुनु पर्ने छैन । ३७ वर्षको स्थायी सेवापछि अब रिटायर्ड लाईफमा पत्थरको जीवनले प्रवेश पाएको छ ।

बैंकमा जागीर खाँदा तेस्रो तहको सहायकमा भर्ना भएकी पत्थरले, आज छैठौं तहको अधिकृतबाट अवकाश भएकी छन् । तर ३७ बर्ष सरकारी जागिर दिएको उनको वास्तविक नाम हरिप्रिया श्रेष्ठ भने सधै छाँयामा रह्यो । त्यस्को एउटै कारण हो उनलाई समाजले हरिप्रिया होईन श्रेष्ठ प्रिया पत्थरको नामले गौरव प्रदान गरेको छ । हरिप्रियाले ३७ बर्ष जागीर दिएपनि पारिश्रमिकले पाएको पत्थर नामले भने थुप्रै कृति प्रकाशित गरिदियो, साहित्यकारको रुपमा देशैभर चिनायो, स्नातक तहसम्मको उच्चशिक्षा पढ्ने अवसर उपलब्ध गरायो, स्वाभिमान र आत्मसम्मानका साथ बाँच्ने आधार पनि दिलायो । 

नेपाली गजलको पुनःजागरणसँगै सुदूरपश्चिममा पनि गजल लेखनमा जागरण आएको देखिन्छ । २०३८ पछि नेपाली साहित्यमा पुनर्जीवन पाएको गजललाई लोकप्रिय बनाउने काम आधुनिक गजलका पुनर्जागरणकर्ता ज्ञानुवाकर पौडेलसँगै अछामका ललिजन रावलले पनि गरेका हुन् । सुदूरपश्चिममै बसेर गजलको विकास र लेखनमा लागि पर्ने श्रष्टा हुन् तिनै सरकारी जागीरे हरिपृया अर्थात श्रेष्ठ प्रिया पत्थर । २०५३ सालमा पग्लिएका व्यथाहरू प्रकाशन गरेकी पत्थरका आँसुको सौगात, पत्थरका प्रलापहरू जस्ता गजलसंग्रहले सुदूरपश्चिममा गजलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

पग्लिएका व्यथाहरु २०५३ सालमा प्रकाशित गरी नेपाली गजलको प्रथम महिला गजल कृतिकार बन्ने सौभाग्य समेत पत्थरले नै प्राप्त गरेकी छन् । पत्थरका धेरै गजल २०४३ सालदेखि नै धनगढीबाट प्रकाशनहुने ’खप्तड’ सन्देश र मातृ सन्देश साप्ताहिकमा पनि प्रकाशन भएका थिए । ५० को दशकपछि सुदूरपश्चिममा गजल लेखनमा अत्यन्त तिव्रता आएको र ६० को दशकपछि त स्वर्णकाल नै निर्माण भएको देखिन्छ । त्यसमा पत्थरको योगदानलाई कसैले पनि नकार्न सक्दैनन् ।

महिलाहरुमा गजल लेखनमा तिव्रता ल्याउनमा त सम्पुर्ण श्रेय पत्थरलाई नै दिने गरिएको छ । सुदूरपश्चिम क्षेत्रलाई नै कर्मथलो बनाई निरन्तर गजल विकासमा समर्पित ’पत्थर’का ४ वटा जगल संग्रह वाहेक ६ वटा उपन्यास, १–१ वटा कथा, कविता, भुमिका र समिक्षा पनि प्रकाशन भईसकेका छन् । ५३ बर्षको उमेरमा सरकारी जागीरबाट रिटायर्ड भएपनि बाँकीका जिन्दगीका पाना पल्टाउनका लागि भने पत्थरसंग खास्सै कसैको साथपनि छैन् । ३७ बर्षसम्म बैंकको जागीर र फुर्सदको समयमा साहित्यका विभिन्न विधामा कलम चलाउदैमा ५३ बर्ष वितेपछि पत्थरको वैवाहिक जिवन भने सुरु नै हुन सकेन् ।

व्यस्त जिन्दगीमा आफु जस्तै अर्थात मन पराउने मान्छे भेटाउन नै नसकेको भनाई पत्थरको छ । वुवाआमाको निधनपछि धनगढीको हसनपुरमा एक्लै बस्दै आएकी पत्थरले सरकारी जागीरबाट पनि अवकास पाएपछि बाँकीको जीवन फुर्सदिलो बनेको छ । बैंकको व्यस्त जागीर चलिरहेकै बेला १४ वटा कृति प्रकाशन गरीसकेकी पत्थरबाट युवा पुस्ताका साहित्यकारले पनि उनको रिटायर्ड लाइफमा धेरै उपलव्धीको अपेक्षा गरेका छन् । साहित्य लेखन र यस क्षेत्रको कला, सस्कृतिको उत्थानका लागि पत्थरले अझ बढि सक्रियता देखाउने सोध पनि बनाइसकेकी छन् । पत्थरको बाँकी जिवन सफल रहोस दिनेश खवरको पनि शुभकामना । 

समयले दिएको प्रत्येक आलो घातमा
लेख्ने गर्छु गजलप्रायः हरेक बात बातमा

दुनियाँको भीडमा कतै हराएछु भने
खोजे हुन्छ पत्थरलाई गजलकै खातमा

 

कमेन्ट लोड गर्नुस