कहाँ गए ? (कविता)
विद्यार्थीहरु कहाँ गए ?
सपना पुछेर घाटमा उभिएका
कलिला नानीहरु कहाँ गए ?
अस्पताल बाहिर एम्बुलेन्सको साइरन रुँदैछ,
बिरामीहरु कहाँ गए ?
मसानघाटतिर
रित्तै दौडिँदैछन् शववाहनहरु,
मलामीहरु कहाँ गए ?
निःशब्द मृत्युशय्यामा,
आफै हिँडेर पुगेका छन् लासहरु !
आफ्नै चितामा दागबत्ती दिएर
विदा भएका छन् इतिहासहरु !
श्रद्धाका फूल चढाउने
अँजुलीहरु कहाँ गए ?
तिमीले जुनिभर खोजेका
बिहानीहरु कहाँ गए ?
निर्जन बस्ती जलेका
खरानीहरु कहाँ गए ?
तिम्रो आँखामा बलेका
साँझबत्तीहरु कहाँ गए ?
दुश्मन जस्ता छन् प्रियजनहरु !
प्रियजन जस्ता दुश्मनहरु !
सिंगो श्रीपेच पहिरिएका
यमराज जस्ता छन् शासकहरु !
हिजो सँगसँगै हिँडेका
सहयात्रीहरु कहाँ गए ?
धर्तीको धमनीभित्र
रक्तकण जमेका हेर !
अक्सिजन सिलिन्डरभित्र
अश्रृग्याँस भरेको हेर !
ज्ञानीहरु कहाँ गए ? विज्ञानीहरु कहाँ गए ?
मृत्युको परेला पुछ्ने अज्ञानीहरु कहाँ गए ?
–लालबहादुर साउद
शिक्षक, महेन्द्र मावि खलंगा डडेल्धुरा