‘तिमीसँग’ का ५ कमजोरी
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म हो ‘तिमीसँग’ । साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेनको प्रमुख भूमिका रहेको यस फिल्मले यतिबेला सिनेमा घरहरुमा दर्शकको राम्रै साथ पाइरहेको छ । प्रदर्शनको तीन दिनमा यसले झण्डै ९० लाखको कलेक्सन गरेको छ । दर्शकबाट ’मिक्स रिभ्यू’ पाइरहेको फिल्मका निर्देशक तथा निर्माता शिशिर राणा हुन् । फिल्ममा तीन पात्रको जर्नीको कथा छ । काठमाडौं, पोखरा, घोरेपानी, काडापानी, घान्द्रुक, देउराली, पुनहिल, अन्नपूर्ण बेसक्याम्प, नवलपरासी लगायतका क्षेत्रमा छायांकन गरिएको फिल्मको सबैभन्दा उत्कृष्ट पाटो लोकेशन हो । पोखराबाट घान्द्रुक उक्लिएपछि फिल्मलाई धेरै हदसम्म लोकेशनले सास भरेको छ ।
आज हामी यो प्याकेजमा ‘तिमीसँग’ का ५ कमजोरीको विषयमा चर्चा गर्दैछौं ।
१. फिल्मको सबैभन्दा कमजोर पक्ष भनेको छायांकन हो । लोकेशन मनमोहक भएपनि छायांकन पक्ष कमजोर हुँदा फिल्मको सौन्दर्य मरेको छ । छायाँकार प्रमोद कार्कीले आफ्नो काम देखाउन चुकेका छन् ।
२. अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केन्द्रित फिल्ममा अभिनेता नाजिर हुसेनको भूमिका कमजोर छ ।
उनलाई दर्शक रिझाउनका लागि मात्र स्थान दिइएको छ । उनी आकाश र साम्राज्ञीको चेपुवामा परेका छन् ।
उही ‘लाउड क्यारेक्टर’ मा प्रस्तुत नाजिरले बेलाबखतमा दर्शकलाई हाँसोको कमी हुन भने दिँदैनन् । तर, यसअघिका फिल्मभन्दा यसमा उनको भूमिका रत्ति नयाँ छैन ।
३. क्रोमा प्रविधिमा गरिएको केहि दृश्यांकन ठूलो पर्दामा झुर देखिन्छ । टाटासुमोमा नाजिर घान्द्रुक जाँदै गर्दा र हेलिकप्टरमार्फत साम्राज्ञी आफ्नो पीतासँग काठमाडौं फिर्दै गर्दा गरिएको क्रोमा सबैभन्दा हास्यास्पद छ ।
फिल्मको सम्पादन पनि हतारमा गरेजस्तो लाग्छ ।
४. फिल्म राम्रो हुन कथा र कथाभित्रको कथा बलियो हुनु पर्छ । कथा दरिलो भए फिल्मका हरेक पात्र बलिया हुन्छन् । पुरानै कथा अनि पुरानै तरिकाको प्रस्तुती छ ‘तिमीसँग’ मा । फिल्मले दर्शकलाई कतै पनि ‘एक्साइटेड’ बनाउँदैन ।
पात्रको रोनाधोनाले दर्शकलाई ‘टच’ गर्न सक्दैन । इमोशनल पाटो बेकारको लाग्छ । फिल्मभित्र दुई एक्सन सिन छन्, जसको आवश्यकता कहीँ कतै देखिन्न । ती सबै फिल्म लम्ब्याउनका लागि जर्बजस्ती राखिएका छन् ।
५. अभिनेता आकाशको अभिनयमा खोट लगाउने धेरै ठाउँ छन् । दोस्रो फिल्मसम्म आइपुग्दा पनि आफ्नो अभिनयलाई उनले निखार्न सकेका छैनन् । यसको दोष निर्देशक शिशिर राणालाई पनि जान्छ । आकाशलाई प्रस्तुत गर्न उनी धेरै ठाउँमा चिप्लिएका छन् ।
‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ हेरेर साम्राज्ञीको तारिफ गरेका दर्शकलाई ‘तिमीसँग’ ले निराश बनाउन सक्छ । निर्देशक राणाले उनलाई कसरी बोल्ड देखाउने भन्ने तर्फ मात्र बढी ध्यान दिएका छन् ।
फिल्मीखबर