धनगढीमा किन जान्छ छिनछिनमा बत्ती ? समाधानको उपाय यस्तो रहेछ
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा मंगलबार राति ९ बजे गएको बत्ती बल्ल राति ३ बजे आएको थियो। ४० वर्ष पूरानो अत्तरिया–धनगढी ३३ केभी लाइनको तार ३ ठाउँमा खस्दा विद्युत्त सेवा अवरुद्ध भएको थियो। गर्मी बढेसँगै बिजुलीको खपत बढ्दा ३३ केभी लाइनको क्षमताभन्दा बढी विद्युत्त तारमा प्रवाह हुँदा गेटा क्षेत्रमा तार खसेर विद्युत्त अवरुद्ध भएको प्राधिकरणका धनगढी वितरण केन्द्र प्रमुख सूर्यनारायण मण्डलले बताए।
‘अत्तरिया–धनगढी ३३ केभी प्रसारण लाइन ४० वर्ष पूरानो हो’ उनले भने, ‘अहिले धनगढीमा पहिलेको तुलनामा विद्युतको माग निकै बढेको छ। जसकाकारण लाइनमा विभिन्न प्राविधिक समस्या आएर लाइन जाने भएको छ।’
गर्मी बढेसँगै धनगढी र आसपासका क्षेत्रमा अनियमित विद्युत कटौती हुने क्रम बढेको छ। जसकाकारण दैनिक जीवन निकै कष्टकर हुन थालेको छ। गर्मीयाममा विद्युतको माग र आपूर्तिमा सन्तुलन नहुँदा लाइनमा फल्ट आउने, ट्रान्सर्फमरमा आगो लाग्ने, फ्यूज जाने, तार खस्ने जस्ता समस्या देखिन थालेको प्राधिकरणले बताएको छ।
तर धनगढीमा अहिले देखिएको विद्युत कटौतीको समस्या हल गर्न १३२ केभीको अर्को सब–स्टेशन र ४० वर्ष पूरानो अत्तरिया–धनगढी ३३ केभी लाइनको विकल्पमा अर्काै लाइन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। तर धनगढीमा अर्काे नयाँ सब–स्टेशन स्थापनाका लागि प्राधिकरणलाई दिन उपमहानगरसँग जग्गा छैन।
नगर विकास समितिले कुनै पनि ठाउँको जग्गा बाँकी नराखेको उपमहानगर प्रमुख गोपाल हमालले बताए। ‘धनगढीमा सब–स्टेशन बनाउन जग्गा तुरुन्त दिन सकिए चाँडै निर्माण गर्न सक्ने अवस्था थियो तर सार्वजनिक जग्गाको विवरण माग्दा नगर विकासमा नरहेको जानकारी पाए’ उनले भने, ‘सब– स्टेशन बनाउन जग्गा खोज्ने कुरामा उपमहानगरपालिका पहल गर्न तयार छ। हामीले छलफल पनि चलाएका छौँ।’
धनगढी वितरण केन्द्र अन्तर्गत अहिले ६५ हजार ग्राहक रहेका छन्। ६५ हजार ग्राहकलाई विद्युत्त आपूर्ति गर्न धनगढी वितरण केन्द्रको सब–स्टेशन र ३३ केभी लाइनबाट आउने विद्युतको क्षमताले धान्न मुस्किल हुन थालेको छ।
उपमहानगर क्षेत्रमा बिजुलीको माग दिन प्रतिदिन बढिरहेको तर पूर्वाधार भने ४० वर्ष पूरानो हुँदा लाइनमा जतिखेर पनि समस्या आउनसक्ने जोखिम छ। धनगढीमा दीर्घकालीन विद्युत कटौतीको समस्या समाधान गर्न वडा नम्बर ५, ६, ७ र ८ को कुनै एक ठाउँमा १३२ केभी सब–स्टेसन अनिवार्य निर्माण गर्नुपर्ने प्राधिकरणले बताएको छ।
६ बिघा जमिन भए, धनगढीमा १३२ केभीको सब–स्टेसन निर्माण गर्न सकिने प्रारम्भिक अनुमान प्राधिकरणको छ। पाँच वर्षसम्मका लागि अर्काे ३३ केभीको स्टेशन तथा ५० देखि १ सय वर्षसम्म विद्युतको कुनै समस्या नहोस् भनेर १३२ केभीको सब–स्टेशन आवश्यक हुने धनगढी वितरण केन्द्र प्रमुख मण्डलले बताए।
धनगढीमा ठूला उद्योग, सपिङ्ग मल, होटल लगायतका संरचना निर्माणको क्रममा छन् भने घरेलु प्रयोजनका लागि पनि दिनप्रतिदिन विद्युतको माग बढेको छ।