सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लवलगायतका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा एमालेको विरोध

२०७९ साउन १७, ०२:५२ खबर संवाददाता

काठमाडौं: नेकपा एमालेले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टी व्यक्त गरेको छ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिंसाको बाटोमा हिँडेको नेकपालाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले शान्तिको बाटोमा ल्याएको तर अहिले फेरी हिंसातर्फ धकेल्न खोजिएको आरोप लगाएका हुन्। ‘म प्रतिपक्षी दलको तर्फबाट सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूलाई काटेको त्यो पत्र तत्काल फिर्ता लिन आग्रह गर्दछु,’ सांसद भट्टराई भने, ‘उहाँहरूले जुन शान्तिपूर्ण रूपमा राजनीति गर्न दल दर्ता गरेर अगाडि बढ्ने बाटो रोज्नुभएको छ त्यसलाई प्रोत्साहन गर्न पनि सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु।’

सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहितका नेतालाई पक्राउ गर्न ३५ दिने पुर्जी काटेको थियो। अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

कमेन्ट लोड गर्नुस