मुख्यमन्त्री कार्यालय अगाडि महिलाले साडी र पेटिकोट फ्याँकेपछि...
धनगढीः चुरे संरक्षण अभियन्ताहरूले मधेश प्रदेश सरकारविरुद्ध साडी–चुरा सडकमै फालेर विरोध गरेका छन्। उनीहरुले जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा, ब्लाउज, पेटीकोट फालेर चर्को विरोध गरेका हुन्।
प्रदर्शनकारीहरू चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूको माग सम्बोधन गराउन १७ दिनदेखि रिले अनसनमा छन्। उनीहरूले आफ्ना पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई साडी, चुरा, प्रदान गरेर विरोध जनाउने बताउँदै आएका थिए। तर प्रहरीले उनीहरूलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न नदिएपछि सडकमै फालेर विरोध गरेका हुन्।
उनीहरूले पर्सि आइतबार मुख्यमन्त्री कार्यालय अगाडि बालबच्चा आन्दोलनको घोषणा गरेका छन्। भूमिहीन सुकुम्वासीहरू घरबारविहीन रहेको र उनीहरूका बालबच्चाको भविष्य अन्धकारमा रहेको जनाउँदै मुख्यमन्त्री कार्यालय अगाडि बालबच्चा प्रदर्शन गर्ने अभियानकर्मीहरूले बताएका छन्।