ओली निवासमा पुगेर राजेन्द्र लिङ्देनले राखे चुनावी सहकार्यको प्रस्ताव
काठमाडौँः राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावी तालमेलका लागि प्रस्ताव गरेका छन्। शुक्रबार बेलुका ओली निवास बालकोटमा भएको भेटवार्तामा दुवै पार्टीबीच आगामी संघीय चुनावमा सहकार्य गर्नेबारे छलफल भएको बताइएको छ।
स्रोतका अनुसार आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गठबन्धन गरेर जाने विषयमा दुवै नेताबीच कुरा भएको थियो। यसअघि २०७४ को निर्वाचनमा लिङ्देनलाई एमालेसहितको तत्कालीन वाम गठबन्धनले समर्थन गरेर विजयी बनाएको थियो। यसपालि पनि उनी झापा– ३ बाटै उम्मेदवारी दिने तयारीमा छन्। अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट लिङ्देनले नेपाली कांग्रेसका कृष्ण सिटौलालाई पराजित गरेका थिए।