घरमा हुने सुत्केरी शुन्य वडा घोषणा
बैतडीको पुरचौंडी नगरपालिका वडा नं ७ कोटीला घरमा हुने सुत्केरी शुन्य वडा घोषणा भएको छ । घरमा हुने सुत्केरी शुन्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आज एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटीला स्वास्थ्यचौकीका ईन्चार्ज सुमन लुहारले जानकारी दिए । गएको एक बर्षको अवधिमा वडाभरीका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाहरुले नेपाल सरकारको प्रोटोकल अनुसार चार पटक गर्भजाँच गरेको, गर्भवती महिलाहरुले टीटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएको लगायतका सूचकहरु पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको उनले बताए ।
विविध जनचेतनामूलक सास्कृतिक कार्यक्रमहरु सहित घरमा हुने सुत्केरी शुन्य वडा घोषणा भएको हो । कोटीला पुरचौंडी नगरपालिकाको तेश्रो र जिल्लाको १२ औं पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको हो । वडा अध्यक्ष रामबहादुर ऐरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभाषद नरेन्द्र कुवर प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख धनबहादुर बिष्ट, पुरचौंडी नगरपालिकाका नगरप्रमुख रणबहादुर कुँवर, उपप्रमुख जानकी बम लगायत को उपस्थीति थियो । पुरचौंडीको वडा नं १ हाट र वडा नं ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भईसकेका छन् ।